काठमाडौँ, कात्तिक ६ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरूसँग संयुक्त छलफल गर्ने हुनुभएको छ । छलफल आज बिहान साढे ११ बजे सभामुखको कार्यालयमा सुरु हुने भएको हो ।


संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिने उद्देश्यले सभामुखले समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाउनुभएको सभामुखको सचिवालयले जनाएको छ ।


सभामुख घिमिरेले विधेयकहरु दफावार छलफलमा रहेका राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिका सभापतिहरुलाई छलफलमा बोलाउनुभएको छ ।

यसैगरी बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, नेपाली काङ्ग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको छ ।