काठमाडौँ, कात्तिक ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । आज सोमबार अपहन्न ५ बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।


विपक्षी दलहरूले दल विभाजनसम्बन्धी अध्यादेश नल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । आज बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै विपक्षी दलहरूले सरकार टिकाउन दुई दलीय तानाशाही लाद्न तथा अन्य दलहरूलाई विभाजन गर्ने उद्देश्य राखेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी नगर्न चेतावनी दिएका हुन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गर्न खोजेको दल विभाजन सम्बन्धी अध्यादेशको भविष्य फेरि अन्योलमा परेको छ । सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको पूर्ण सहमति प्राप्त हुन नसकेपछि सो अध्यादेश अन्योलमा परेको हो ।


राजनीतिक दल विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याउने सम्बन्धमा प्रधानमन्त्री ओली र काङ्ग्रेस सभापति देउवाबीच आइतबार साँझ लामो कुराकानी भएको थियो । अध्यादेश जारी गर्ने सम्बन्धमा देउवाले सहमति दिए आज मन्त्रिपरिषद् बैठक राखेर त्यसलाई अघि बढाउने प्रधानमन्त्री ओलीको तयारी थियो । तर, सभापति देउवाले पूर्ण सहमति नदिएपछि नियमित रुपमा सोमबार बस्ने मन्त्रिपरिषद् बैठकसमेत बस्न सकेन ।