पाँचथर, कात्तिक ५ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले बाढीपहिरोले अत्यधिक क्षति पु¥याएकाले राहत र पुनःनिर्माणलाई प्रभावकारी बनाइनुपर्ने बताउनुभएको छ । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावितस्थल निरीक्षणपछि आज फिदिममा पत्रकारसँग कुराकानी गर्दै उपमहासचिव गजुरेलले प्रभावित जनताको जीवनयापन सहज बनाउन सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।


“यस पटक बाढीपहिरोले जनताको कुनै धनमाल र जग्गाजमिन बाँकी नराखेको देखियो । यसमा सरकारका तर्फबाट प्रभावकारी राहत प्याकेज ल्याइनुपर्छ”, उहाँले भन्नुभयो, “परम्परागत राहत वितरणले प्रभावित जनताको जीवन रक्षा हुन नसक्ने देखियो ।”

उपमहासचिव गजुरेलले बाढीपहिरोले गरेको क्षति हेरेपछि मन नअडिने अवस्था रहेको बताउनुभयो । पाँचथरमा विसं २०७८, ०८० र यस वर्ष निरन्तर बाढीपहिरोले क्षति गरेकाले सरकारले विशेषरुपमा सम्बोधन गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । 

पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङ अस्वस्थ भई आवाज उठाउन नसक्ने भएको तथा पाँचथरबाट सङ्घीय संसद्मा अन्य प्रतिनिधि नरहनु भएकाले यहाँको आवाज सङ्घीय सरकारले नसुनेको अनुभूति भएको उहाँको धारणा थियो । “यसैका लागि बाढीपहिरोले गरेको क्षतिको अवस्था हेर्न हामी आएका हौँ”, उहाँले भन्नुभयो ।

पाँचथरमा धेरै सडक पुल निर्माण, बस्ती स्थानान्तरणको आवश्यकता देखिएकाले सरकार गम्भीर भइ आवश्यक पहल थाल्नुपर्ने नेता गजुरेलको भनाइ छ । उहाँले विपद्बाट प्रभावित यहाँका स्थानीय तह फिदिम नगरपालिका, फालेलुङ र फाल्गुनन्द गाउँपालिकालाई ‘ख’ र ‘ग’ वर्गमा नभइ ‘क’ वर्गमा राख्न माग गर्नुभयो ।