काठमाडौँ, कात्तिक ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लो विपद्का समयमा समाचार सम्प्रेषणका दृष्टिले राष्ट्रिय समाचार समितिको उपस्थिति महत्वपूर्ण रहेको बताउनुभएको छ । राससले तयार गरेको बाढी, पहिरो २०८१ समाचार सङ्कलन तथा सम्प्रेषण प्रतिवेदन ग्रहण गर्दै मन्त्री गुरुङ्ले विपद्को समयमा राससले अविच्छिन्न रुपमा गरेको समाचार सम्प्रेषण र सामाजिक उत्तरदायित्व अन्यका लागि पनि उदाहरणीय हुनेछ भन्नुभयो ।

रासस २४ घण्टा नै सञ्चालन हुँदा हालै आएको बाढी, पहिरोको विपद्पछि उद्धार, राहतसम्बन्धी सूचना, स्थलगत रिपोर्टिङदेखि विभिन्न विज्ञका विचार सम्प्रेषण गरी सराहनीय कार्य गरेको उहाँको भनाइ छ । राससले यस दुःखद घटनालाई नजिकबाट रिपोर्टिङ गर्ने र जनतालाई सुसूचित गर्ने प्रयास गरेको बताउँदै उहाँले सबै मिडियालाई समाचार दिन सक्ने हैसियत राख्ने राससप्रति अरू मिडियाको आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो । 

सरकारको उद्देश्य सूचनामा जनताको पहुँच बढीभन्दा बढी विस्तार गर्नु रहेको बताउँदै मन्त्री गुरुङले भन्नुभयो, ‘‘राससले आफूलाई समयानुकूल रुपान्तरण गरी मन्त्रालयको लेन्थ (सोच)मा हिंडेको छ, सरकारले गरेका कामका बारेमा जनताले थाहा पाउनुपर्छ । आगामी दिनमा पनि राज्यका सूचनाहरुलाई जनतासमक्ष पु¥याउन रासस सक्षम रहनेछ ।’’  

सो अवसरमा मन्त्रालयका सचिव राधिका अर्याल, सहसचिवद्वय गजेन्द्र ठाकुर र बाबुराम भण्डारी पनि उपस्थित हुनुहुन्थ्यो । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा नेतृत्वको टोलीले सो प्रतिवेदन बुझाएको हो । टोलीमा महाप्रबन्धक सिद्धराज राई, सञ्चालक समिति सदस्य कृष्ण अधिकारी र प्रशासन प्रमुख शीतलप्रसाद महतो सहभागी हुनुहुन्थ्यो ।

प्रतिवेदनमा गत असोज ११ देखि १९ गतेसम्म राससबाट सम्प्रेषित विपद्को पूर्वसङ्केत, मनसुनी वर्षाको चेतावनी, वर्षाद्को अवस्था, पीडितहरुको उद्धार, राहत कार्यहरु, क्षतिको मूल्याङ्कन, पीडितका आवाज, जनधनको क्षतिको अवस्था, सरकारले गरेका निर्णयहरु समेतका समाचार सामग्रीहरु समटिएका छन् । छ खण्डमा विभक्त तीन सय २५ पृष्ठको सो प्रतिवेदनमा नेपाली समाचार, स्थलगत रिपोर्टिङ, अन्तर्वार्ता, आलेख तथा विचार, अङ्ग्रेजी समाचार, फोटो सेवा र भिजुअल सेवामार्फत सम्प्रेषित सामग्रीहरु रहेका छन् । गत असोज ११ र १२ गतेको मनसुनी वर्षाका कारण २४६ जनाको मृत्यु भएको, १८ जना हराइरहेका र एक सय ७८ जना घाइते भएको सरकारी तथ्याङ्क छ ।