काठमाडौँ, कात्तिक ५ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक आज सोमबार अपहन्न ५ बजे बस्ने गरी तय भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज साँझ बस्ने बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन ।


यद्यपि प्रधानमन्त्री ओलीले अध्यादेशबारे नेपाली कांग्रेस लगायतका दलसँग छलफल अघि बढाइसक्नुभएकाले आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे छलफल हुनसक्ने बुझिएको छ ।


आइतबार बेलुका पनि ओलीले देउवालाई बालुवाटारमा बोलाएर अध्यादेश ल्याउन सहयोग गर्न आग्रह गर्नुभएको बुझिएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासहित गृहमन्त्री रमेश लेखकलाई बोलाएर प्रधानमन्त्री ओलीले छलफल गर्नुभएको थियो ।


मन्त्रिपरिषद् बैठक अघि विपक्षी दलहरूले सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै छन् । यसअघि गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संक्रमणकालीन सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समिति गठन र जलन प्रभावितको निःशुल्क उपचार गर्ने लगायतका निर्णय गरेको थियो।