फाइल तस्वीर
काठमाडौँ, कात्तिक ५ गते । नागढुङ्गा–नौबिसे सडक खण्डको जाम छल्न काठमाडौँको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिकमार्ग हिजो आइतबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । धुनीबेँसी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष विशाल भट्टराईका अनुसार धार्के–ठूलोखोलामा दोस्रो तहको कालोपत्र हिजोदेखि सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो ।
वडाअध्यक्ष भट्टराईका अनुसार हिजोदेखि धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र सुरु भएकोले अत्यावश्यक बाहेकका सवारी साधनलाई बन्द गरिएको हो ।

उक्त सडकअन्तर्गत हाल धुनिबेँसी नगरपालिका–५ को बट्टारबाट अमलेश्वरी पार्कसम्म कालोपत्र भइरहेको सडक निर्माणको ठेक्का लिएको कम्पनी गोरखकाली कन्स्ट्रक्सनका साइट इन्चार्ज रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार नौ किलोमिटरको उक्त दोस्रो लेयरको कालोपत्र तीन चरणमा पूरा गर्नेगरी तीन–तीन किलोमिटरका दरले काम गर्ने र तिहारसम्म आधा काम सकिने छ ।

यस पटकको दसैँमा सवारी जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टा सीतापाइला–धार्के सडक प्रयोगमा ल्याइएको थियो। अधिकांश साना सवारी साधन सीतापाइला–धार्के हुँदै गुडेका थिए । नागढुङ्गा–नौबिसे सडकको जाम छल्न यातायात व्यवसायीले दसैँमा उक्त सडक प्रयोग गरेका थिए । नागरिक स्तरबाट सीतापाइला–धार्के सडक कुल २४ किलोमिटर लम्बाइ र सीतापाइला–रामकोट–भीमढुंगा–महेशफाँट हुँदै धार्केमा जोडिने सडक स्तरोन्नतिको माग बढेपछि सरकारले उक्त सडकको काठमाडौँतर्फ पाँच किलोमिटर सडक विस्तार सुरु गरिसकेको छ ।