धनुषा, कात्तिक ४ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा स्वास्थ्यसेवाका सूचक प्रगतिउन्मुख भए पनि पूर्ण सन्तोषजनक नरहेको बताउनुभएको छ । उहाँले सरकारी अस्पतालहरूमा औषधि उपचारलगायत सेवाप्रति जनतामा सन्तुष्टि र विश्वास उत्पन्न नहुँदासम्म उत्कृष्ट सेवा भएको ठहर गर्न नसकिने बताउनुभयो ।

जनकपुरधाममा स्वास्थ्य निर्देशनालय मधेस प्रदेशद्वारा  आज आयोजित आर्थिक वर्ष २०८१÷८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको तीनदिने प्रदेशस्तरीय समीक्षा गोष्ठीको समापन समारोहमा मुख्यमन्त्री सिँहले अस्पताल र पालिकाका स्वास्थ्य संस्थातर्फ कार्यसम्पादनतर्फ पहिलो, दोस्रो र तृतीय हुनेलाई आवश्यकताका आधारमा स्वास्थ्य उपकरणलगायत सामग्री दिएर प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले पहिलोलाई रु ५० लाख, दोस्रोलाई रु ३५ लाख र तेस्रोलाई रु २५ लाखको स्वास्थ्य उपकरण दिनुपर्ने बताउनुभयो । 

मुख्यमन्त्री सिंहले कार्यसम्पादन मूल्याङ्कनमा अब्बल ठहरिएका स्वास्थ्य संस्थाका चिकित्सकलाई प्रोत्साहनस्वरूप रकम दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रोत्साहन रकमका कारण स्वास्थ्य संस्थाहरूबीच पहिलो, दोस्रो र तेस्रो हुन प्रतिस्पर्धा हुनेछ । यसबाट अपेक्षित र राम्रो परिणाम प्राप्त हुनेछ ।” पुछारबाट पहिलो, दोस्रो र तेस्रो हुनेलाई समेत कुरियरबाट सम्मानपत्र पठाउनुपर्ने उहाँले बताउनुभयो । यसबाट ती संस्थाहरूमाथि समेत असल काम गर्न  दबाब सिर्जना हुनेछ ।

प्रादेशिक अस्पतालहरूको शय्या स्वीकृत भई दरबन्दी पूर्ति हुनुपर्ने मुख्यमन्त्री सिँहले औँल्याए । उहाँले अहिले २५ प्रतिशत दरबन्दी पूर्ति भएकाबाट ५० देखि ७० प्रतिशत दरबन्दी पूरा भए सेवाको स्तर वृद्धि हुने जानकारी दिनुभयो । उहाँले पालिकास्थित बर्थिङ सेन्टरमा जनशक्ति बढाएर प्रसूतिसेवाको गुणस्तर बढाउन प्रदेश सरकारले पालिकासँग समन्वय गर्ने उल्लेख गर्नुभयो । 

मुख्यमन्त्री सिँहले मधेस प्रदेशमा स्वास्थ्य बीमामा न्यून सङ्ख्यामा जनताको पहुँच रहेको उल्लेख गर्दै सेवाग्राहीले न्यून लगानीमा अत्यधिक प्रतिफल लिनसक्ने बनाउन स्वास्थ्य बीमाका लागि व्यापक जनचेतना जगाउनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्यसंस्थामा औषधि उपलब्ध गराउन तत्काल खरिद प्रक्रिया सुरु गर्न आफूले स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएको भन्दै सरकारको मापदण्डअनुसार औषधिको गुणस्तर कायम राख्न कुनै पनि सम्झौता गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रभाव नभएका औषधि खरिद नहोस् भन्नेमा गम्भीर ध्यान पुग्नुपर्छ ।”

प्रदेशका एक सय ३६ पालिकामा सञ्चालन भइरहेका स्वास्थ्य प्रयोगशालामध्ये कतिपय मापदण्डविपरीतका घरमा सञ्चालन भइरहेको भन्दै प्रयोगशालाजस्तो संवेदनशील ठाउँमा मापदण्डअनुसारका पूर्वाधार विकसित गर्न पालिकासँग समन्वय गर्नुपर्ने मुख्यमन्त्री सिँहले बताउनुभयो । उहाँले प्रयोगशालामा कार्यरत जनशक्तिको दरबन्दी शीघ्र स्वीकृत गराउन पनि निर्देशन दिनुभयो ।

निजी अस्पताल, नर्सिङ होम र क्लिनिकहरूको अनुगमन आवश्यक भएको मुख्यमन्त्री सिँहले बताउनुभयो । उहाँले स्वीकृत शय्या सङ्ख्या र सञ्चालनमा रहेका शय्या, नवीकरण र कानुनअनुसार १० प्रतिशत शय्या छुटजस्ता विषयबारे अनुगमन गर्न निर्देशन दिनुभयो । उहाँले निजी अस्पतालमा बिरामी बन्धक भएका कुरा सामाजिक सञ्जालमा आउने गरेको सन्दर्भ कोट्याउँदै १० प्रतिशत शय्या छुटमा तिनको उपचार भए त्यस्तो नहुने र त्यसका लागि स्वास्थ्य संस्थाको वर्षभरिको कारोबार तथा छुटका बारेमा अनुगमन गरिनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री सिँहले आयुर्वेदको सुगन्ध दिन आयुर्वेद अस्पतालले आफ्नो परिसरमा विवरण बुझिने गरी जडीबुटी उत्पादन गर्नुपर्ने र त्यसको उपयोग हुने रोग तथा प्रयोग विधिबारे स्थानीयलाई जानकारी दिनुपर्ने बताउनुभयो । “यसबाट आफ्नै घर वरपर चिकित्सकीय गुण भएका बोट रहेको स्थानीयले भेउ पाउनेछन् र, तिनको प्रयोगप्रति आकर्षित हुनेछन्,” उहाँले भन्नुभयो ।

कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहलगायतले प्रदेशको स्वास्थ्य क्षेत्रको अवस्थाबारे आ–आफ्ना धारणा राखेका थिए ।