काठमाडौँ, कात्तिक ४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यलाई शक्तिशाली बनाउन भाषा र संस्कृतिले अहम भूमिका खेल्ने भएकाले यसको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि औपचारिकरुपमा सुरु गरेको मैथिली र नेपाल भाषा समाचारको शुभारम्भ गर्दै मन्त्री गुरुङले सरकारले भाषा संरक्षण अभियान सरकारी मातहतका सञ्चार माध्यमबाट थालनी गरेको बताउनुभयो । सबै क्षेत्रका जनतालाई साझा र समान अधिकार बाँडफाँड गर्दै राष्ट्रियतालाई प्रवर्धन गर्न सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “कागजमा मात्रै नभई जनताको अनुहार, भाषा र संस्कृतिमा राष्ट्रियता तथा समावेशी प्रजातन्त्र झल्कनुपर्छ ।”

राज्यका स्रोत र साधनमा समान पहुँच भएन भने मुलुक अप्ठ्यारोमा पर्न सक्ने भन्दै मन्त्री गुरुङले प्रत्येक जातिय समुदायले आफ्ना भाषा र संस्कृति जोगाउने अवसरलाई ठूलो उपलब्धिका रुपमा लिन सकिने बताउनुभयो । 

सभ्य, शान्त, समृद्ध, विशाल र अखण्ड समाज निर्माण गर्ने अभियानमा यस्ता कार्य पहिलो पाइलो भएको उल्लेख गर्दै नेपाल सरकारका प्रवक्ता गुरुङले यस्ता प्रयास निरन्तर जारी रहन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । सरकारको सय दिने कार्य सम्पादनको पहिलो कार्य योजनामा राससलाई २४सै घन्टा सेवा प्रवाह गर्ने, रासस सङ्ग्रालय बनाउने र दुईवटा भाषामा समाचार सम्प्रेषण गर्ने जिम्मेवारी दिएकामा त्यसमा राससले सफलता प्राप्त गरेको भन्दै मन्त्री गुरुङले धन्यवाद ज्ञापन गर्नुभयो ।

रासससँगै रेडियो नेपाल, गोरखापत्र र नेपाल टेलिभिजनसमेतमा थप मातृभाषा समावेश हुनुले सङ्घीय समावेशी अवधारणा बलियो भएको उहाँको भनाइ थियो । स्थानीय सरकारसमेतले लोपोन्मुख भाषा संरक्षण अभियान चलाउनुपर्ने मन्त्री गुरुङले सुझाव दिनुभयो ।

“भाषा र संस्कृति संरक्षणमा केन्द्रीय सरकारदेखि स्थानीय सरकारले अभियान थाल्नुपर्छ”, उहाँले भन्नुभयो, “भाषा र संस्कृति बलियो भए मात्र राज्य बलियो हुन्छ ।”

मन्त्रालयका सचिव राधिका अर्यालले मातृभाषा समुदाय विशेषको आत्मसम्मान र गौरव गर्ने विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विविधतालाई जोड्ने र सबै भाषालाई मूल प्रवाहिकरणमा ल्याउने काम राससलगायतका सञ्चारमाध्यमले गरेका छन् । यसले समावेशीताको प्रवर्धन गर्छ ।”

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले प्रारम्भ गरेको मातृभाषाको समाचार सेवालाई दीगो बनाउन सबैसँग सहयोगका लागि आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, “भाषा बचेन भने मिडिया बच्न सक्दैन, मिडिया बचेन भने भाषा बच्न सक्दैन । भाषा र मिडिया एक अर्काका पुरक हुन् । राष्ट्रको विस्तृत हित सोच्दै गर्दा सङ्क्रिर्ण सोच आफँै हराउँदै जान्छ ।”

राससका महाप्रबन्धक सिद्धराज राईले नागरिकको सूचनाको हक स्थापित गर्ने सिलसिलामा राससले सरकार र जनताबीच पुलको काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्ला दिनमा राससले २४ सै घण्टा समाचार सेवासँगै संविधानको मर्म र भावनाअनुरुप विभिन्न मातृभाषामा समाचार सेवालाई स्थान प्रदान गर्दै अघि बढिरहेको छ ।”

भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरले रासस जस्तो सञ्चारमाध्यममा मातृभाषामा समाचार सम्प्रेषण गर्ने कार्य क्रान्तिकारी कदम भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सञ्चारमाध्यमले बहुभाषामा समाचार सम्प्रेषण गर्नु देशका विभिन्न भाषाभाषि र जातजाती समुदायका लागि गौरवको विषय हो ।”

प्रा डा योगेन्द्रप्रसाद यादवले भाषाको विकास र सम्वर्धन गर्न त्यसको प्रयोग आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मातृभाषाको प्रयोग गर्न पाउनु मौलिक अधिकार हो । पछिल्लो समय मातृभाषाको प्रयोग बढ्दै गएको छ ।”