प्रहरीको घेराभित्र रास्वपाका सभापति रवि लामिछाने ।
काश्की, कात्तिक ४ गते । सहकारीको रकम अपचलन प्रकरणमा प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सरकारले फसाउने प्रपञ्च गरेको आरोप लगाउनुभएको छ । जिल्ला अदालत काश्कीमा पेश गर्न लाँदै गर्दा सभापति लामिछानेले सञ्चारकर्मीहरुकाबीच सरकारप्रति आरोप लगाउनुभएको हो ।

सहकारीको रकम अपचलन गरी ठगी गरेको अभियोगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न म्याद थपका लागि आज आइतबार जिल्ला अदालत प्राङ्गणमा पत्रकारहरुसँग संक्षिप्त धारणा राख्दै सरकारले आफुलाई फसाउन खोजे पनि न्यायलयले आफुलाई न्यायदिने विश्वास व्यक्त गर्नुभएको छ ।

सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनेक्रममा रास्वपाका सभापति लामिछानेले ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’– भन्नुभयो ।