तस्वीरमा विरोध प्रदर्शन गर्दा रास्वपाका कार्यकर्ताको जुलुस ।
काश्की, कात्तिक ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने सहकारी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेर पोखरा लगेपछि आज रास्वपाले पोखरामा विरोध प्रदर्शन गरेको छ । रास्वपाका कार्यकताहरुले जिल्ला प्रशासन कार्यालय काश्कीले घोषणा गरेको निषेधित क्षेत्रमै सरकारको विरोध र सभापति लामिछानेको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरास्थित सहिद चोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। सहित चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएका स्थानहरु हुन् । रास्वपाका कार्यकर्ताहरुले अन्तिम समयमा मात्रै निषेधित क्षेत्र घोषणा गरिएको भन्दै विरोध जनाएका छन् ।

प्रहरीले निषेधित क्षेत्र खाली गराउने प्रयास गर्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केहीबेर धकेला–धकेल हुँदा तनावकोस्थित सिर्जना भएको छ । रास्वपा सभापति लामिछानेलाई अस्ति शुक्रबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयबाट गिरफ्तार गरी सोही साँझ काश्की लगिएको थियो । सभापति लामिछानेलाई आजै काश्की जिल्ला अदालतमा लगिएको छ । पार्टी सभापति लामिछानेलाई षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै उक्त पार्टीका नेता तथा कार्यकर्ताले सरकारविरोधी नारा लगाउँदै तीन दिनदेखि नै सडकमा प्रदर्शन गदै आएका छन् ।