फाइल तस्वीर
काठमाडौँ, ४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे बोलाउनुभएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक स्थगित भएको छ । पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न मन्त्री पाण्डेले बोलाउनु भएको बैठक उच्च अदालत पाटनमा मुद्दा विचाराधीन रहेकाले स्थगित भएको हो ।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले आज आइतबार बिहानका लागि बैठक आह्वान गर्नुभएको थियो । कात्तिक २ गते शुक्रबार न्यायाधीश डालकुमार खड्काको एकल इजलासले पहिलो सुनुवाइ गर्दै गौशाला धर्मशाला विवादमा पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दामा अन्तरिम आदेशका लागि छलफल गर्न भोलि सोमबारका लागि पेशी तोकिएको छ ।

यसअघि कोषले काठमाडौँ महानगरपालिकालाई धर्मशाला व्यवस्थापन गर्ने गरी सहमति गरेको थियो । त्यसअनुसार महानगरपालिकाले धर्मशाला प्रवेश गर्न खोज्दा मारवाडी समितिले रोकेर विरोध जनाउँदै आएको छ । पाटन उच्च अदालतमा मारवाडी सेवा समितिले रिट दायर गरेको थियो ।