कास्की, कात्तिक ४ गते । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेस गरिने भएको छ । जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ पर्नुभएका रास्वपा सभापति लामिछानेलाई हिजो सार्वजनिक बिदा परेका कारण आज मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको हो ।


रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा मीनबहादुर गुरुङको चर्चा चलेको छ । शुक्रवार जिल्ला अदालत कास्कीले सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका लामिछानेलाई राजनैतिक प्रतिशोध साध्नका लागि पक्राउ गरिएको भन्दै रास्वपाका नेताहरूले मीनबहादुरको चर्चा गरेका हुन् ।


सहकारी प्रकरणमा नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति क्रषिकेश पोखरेल वास्तविक सहकारी ठग रहेको प्लेकार्ड बोक्दै रविलाई एक दिन भए पनि जेलमा राख्ने योजनाका साथ सरकार लागिपरेको रास्वपा नेताहरुको आरोप छ । विरोध कार्यक्रममा सम्बोधन गर्ने रास्वपाका अधिकांश नेताले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाविरुद्ध बोलिरहेका थिए । रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले रविलाई पक्राउ गरेर सरकारसँगै काङ्ग्रेस महामन्त्री थापा नाङ्गिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका लामिछानेलाई आज आइतबार अदालत पेस गरिने र प्रहरीले अदालतसँग अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति लिई प्रक्रिया अघि बढाउने छ । संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा लामिछानेका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल जोशी यसअघि नै पक्राउ परी २० दिनको म्याद थप भइसकेको छ । लामिछाने पक्राउ परेसँगै रास्वपाले सडक प्रदर्शन गरेकोले पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने आज आइतबार कास्की जिल्ला अदालत बाहिरसमेत रास्वपाले विरोध गर्ने तयारी गरिरहेको छ ।