चितवन, कात्तिक ३ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीहरुको एकतालाई चाँडै टुङ्गोमा पु¥याउने बताउनुभएको छ । माओवादी केन्द्रले चितवनको भरतपुर–१३ मा बेपत्ता यौद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भङ्गालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको उहाँको भनाइ छ । आफूहरु शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने बिषयमा कुनै विन्दुमा पुगेर सङ्घर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो विन्दु आएको बताउनुभयो ।


प्रचण्डले आम जनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने बताउँदै पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने लगायतका ऐतिहासिक काम गरिएको बताउनुभयो । उहाँले सहिद र यौद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरु बनाएर अघि बढ्ने पनि बताउनुभयो । अध्यक्ष प्रचण्डले न्यौपाने जनयुद्धको क्रममा बेपत्ता हुने सबैभन्दा माथिल्लो तहको नेता भएको उल्लेख गर्दै आफूसित अत्यन्त निकट रहेर काम गरेको र निरन्तर नेतृत्व विकासमा जोड दिने गरेको बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए चौसट्ठी साल दोहोरिने बताउनुभयो । महासचिव विप्लवले जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने उल्लेख गर्दै त्यसका लागि क्रान्तिकारीहरुको एकता आवश्यक रहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौं यौद्धाको बलिदानबाट प्राप्त संविधान कसैले दायाँबायाँ गर्न नपाउने उल्लेख गर्दै अब माओवादी र बामपन्थी एकताबाट समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताउनुभयो ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जनयुद्धको जगमा जनतन्त्रको एजेन्डा पूरा भएको उल्लेख गर्दै अब जनजीविकाको सवाललाई गम्भीरतापूर्वक अघि बढाउनुपर्नेमा जोड दिंदै माओवादी आन्दोलनलाई एकताबद्व गरेर समाजवादी क्रान्तिलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।