तस्वीरमा ढकमक्क फूलेको सयपत्री फूल।
भक्तपुर, कात्तिक २ गते ।
भक्तपुरका गाउँगाउँमा ढकमक्क फूल फुलेका छन् । व्यावसायिक रूपमा गरिएको सयपत्री र मखमली फूल फुलेर ढकमक्क हुँदा गाउँ यहाँका फाँटहरू राताम्मे देखिएका छन् भने यसले नजिकिँदो तिहारको झल्को दिइरहेको छ ।

व्यावसायिक फूलखेती गरिएको भक्तपुरका बस्तीमात्रै हैन, अधिकांश गाउँघर एवं टोलटोलका आँगनमा समेत मखमली र सयपत्री फूल लहरै झुलेका छन् । तिहार नजिकिँदै गरेपछि व्यावसायिक फूलखेती गर्नेलाई भने यतिखेर फूल टिपेर माला उन्न र व्यवस्थापन गर्न भ्याइनभ्याइ छ । काठमाडौँ उपत्यकामै सबैभन्दा बढी व्यावसायिक फूलखेती गर्ने सूर्यविनायक नगरपालिका–७ गुण्डुका घरघर, टोलटोल यतिखेर राताम्मे बनेका छन् भने फूल टिप्न र माला गाँसेर बजार पु¥याउनसमेत भ्याइनभ्याइ हुन थालेको छ ।

मखमली र सयपत्री फूलखेतीबाट राम्रो आम्दानी हुने भएपछि अधिकांश किसानमात्रै होइन फूलखेती गर्नकै लागि जग्गा भाडामा लिएर यहाँ बस्ती सरेर आउनेहरू पनि उत्तिकै रहेका सूर्यविनायक नगरपालिका नगरपालिका–७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटा बताउनुहुन्छ । नगरपालिकाले केही वर्षयता स्थानीयलाई व्यावसायिक फूलखेती गर्न ७० प्रतिशत अनुदानमा बीउसमेत वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो । “यस वर्ष मात्रै सयपत्रीका ५५ हजार बिरुवा वितरण गरेका थियौँ । राम्रो आम्दानी हुने भएपछि धान खेतदेखि मकैबारी, भिरालो जमिन, खेतको आली तथा डिलमा फूल लगाउने प्रचलन बढ्दैछ । हाल जताततै फूलले ढकमक्क बनेको देखिन्छ । एकैपटक दोहोरो आम्दानी हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो”, नगरपालिकाका प्रवक्ता सापकोटाले भन्नुभयो । 

स्थानीय कृषक मीना नगरकोटी जेठमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्म टिप्न सकिने र फूल सप्रेमा एक सिजनमा एक रोपनी जग्गाको उत्पादनबाट रु एक लाखसम्म आम्दानी गर्न सकिने बताउनुहुन्छ । स्थानीय फूल उत्पादक कृषक एवं पुष्प व्यवसायी अनिता बस्नेतले यतिखेर किसानलाई फूल टिप्न भ्याइनभ्याइ भएको बताउनुभयो । “एक रोपनी जग्गामा मखमलीका पाँच हजार माला उन्न सकिने र एउटा मालाको यसवर्ष रु २५ मा बिक्री हुँदा पनि एक लाखको कारोबार हुने छ”, उहाँले भन्नुभयो,“मखमली फूल र माला लिन गाउँमै व्यापारी आउने गरेपछि किसानलाई सजिलो भएको छ ।”

सयपत्री फूल एक मुठाको रु १० देखि १५ मा बिक्री हुने गरेको छ भने तिहारमा चारपाथी अट्ने ढ्वाङमा हालेर एक ढ्वाङको रु छ सयमा बिक्री हँुदै आएको व्यवसायीले बताएका छन् । भक्तपुरमा गुण्डु, सिपाडोल, चित्तपोल, ताँथली, सुँडाल, वागेश्वरीलगायत ठाउँमा अहिले व्यावसायिक फूलखेती भइरहेको छ । रासस