सुर्खेत, कात्तिक २ गते । चारवटा भैँसी पालेमा जाजरकोटको बारेकोट गाउँपालिकाका किसानले पशुघर निर्माण गर्न अनुदान पाउने भएका छन् । मानव घरबाट पशुघर अलग निर्माण गर्ने उद्देश्यका साथ इच्छुक व्यक्तिले सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिनुभयो । बारेकोटमा अधिकांश स्थानीयले माथिल्लो तलामा आफू बस्ने र तल्लो तलामा पशुचौपाया पालन गर्दै आएका छन् । यो समस्या हल गर्न गाउँपालिकाले चारवटा भैँसीपालन गर्ने पशुपालक स्थानीयलाई अनुदानको रकम लिएर छुट्टै पशुघर निर्माण गर्न आग्रह गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

मानव स्वास्थ्य र पशुपालक किसानलाई मल उत्पादनदेखि पशु स्वास्थ्य बनाउन यो योजनाले सघाउ पुर्याउने गाउँपालिकाले अपेक्षा लिएको छ । चारवटा भैँसीपालन नगर्ने किसानलाई अनुदान नदिइने अध्यक्ष गिरीले बताउनुभयो ।

बारेकोटमा पशुपालन बढी हुने गरेको छ । कर्णाली प्रदेश सरकारद्वारा हस्तान्तरण गरिएको सशर्त अनुदान रकमबाट पशु र मानव घर अलग बनाउने कार्यक्रम सञ्चालन गर्न लागिएको हो । अनुदानका लागि वडा कार्यालयको सिफारिस, वडाको पशु प्राविधिकको सिफारिसलगायत कागजात पालिकामा बुझाउनुपर्ने शर्त छ । पालिकाले १ देखि ९ वडाका पशुपालक किसानलाई १५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ । पालिकाले यसभन्दा अघि आफ्नै बजेटबाट पनि केही पशुघर निर्माण गरेको छ ।

गाउँपालिकाले पशु चौपाया बिरामी भए उपचार गर्न रु १२ लाख विनियोजन गरेको छ । पशु स्वास्थ्य शिविर सञ्चालन गर्न रु दुई लाख रकम विनियोजन गरिएको छ । विभिन्न रोगको महामारी फैलिन नदिन पालिकाले विश्ेष योजना बनाएको छ । गाउँगाउँमा गएर पशु चौपायाको उपचार गर्न शिविर सञ्चालन गर्न उक्त रकम विनियोजन गरिएको हो ।

एक वडा, एक प्राविधिक कार्यक्रम लागू गरेर पालिकाभित्रका पशु चौपायाको उपचार, रेखदेखका तथा पशु सेवाका लागि रु ५२ लाख २० हजार विनियोजन गरिएको अध्यक्ष गिरीले बताउनुभयो । जिल्लाको एकमात्र पाटन क्षेत्र भएको पालिकामध्ये एक बारेकोट हो । नलगाड नदी किनारमा यहाँ बस्ती छन् । नलगाड नदीको उद्गमस्थलसमेत बारेकोटमा नै छ । वर्षायाममा यहाँका पशुधन पाटन र हिउँदयाममा गाउँ झारिन्छन् ।