फाइल तस्वीरः प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ।
काठमाडौँ, कात्तिक २ गते । पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका प्रतिपक्षी दलहरूको बैठक आह्वान गर्नुभएको छ ।

देशको वर्तमान राजनीतिक अवस्थाका साथै असोज दोस्रो सातामा बाढी–पहिरोले निम्त्याएको सङ्कट र बाढीपिडितहरुको राहत र पुनःस्थापनका बारेमा छलफल गर्न प्रतिपक्षी दलहरुको बैठक आह्वान गर्नुभएको हो ।

बैठक काठमाडौँको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्नेगरी बैठक बोलाइएको छ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी(जसपा), नेपाललगायतका दलहरुलाई बोलाइएको माकेका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

बाढीपहिरो पीडितलाई राहत पुनस्र्थापनाको लागि सरकारले तदारुकता नदेखाएको सत्तासाझेदार दल काङ्ग्रेसका नेताहरुले समेत आरोप लगाउँदै आएका छन् । एक महिना हुनलाग्दा पनि सरकारले बाढी–पहिरो पीडितहरुलाई राहत र पुनःस्थापना गर्नेतर्फ खासै उल्लेखनीय कार्य गरेको छैन । प्रधानमन्त्री उद्दार कोषमा पौने दुई अर्ब रुपैयाँ जम्मा भइसकेको छ । राहत र पुनःस्थापनाको नाममा सत्तासिन दलले पार्टी निकट कार्यकर्ता र शुभचिन्तकहरुलाई प्राथमिकतामा राखेर काम गर्न खोजेको आरोप लाग्न थालेको छ ।