प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुको बैठक ।
काठमाडौँ, कात्तिक १ गते । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेतृत्व शान्ति प्रक्रियाको बाँकी काम टुङग्याउन गठन हुने सर्च कमिटीलाई तत्काल पूर्णता दिन सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको बैठकमा सत्तासाझेदार दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटेको हो ।

शीर्ष नेताहरुको बैठकमा सरकारका गृहमन्त्री रमेश लेखक, पूर्वगृहमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतको समेत सहभागिता रहेको थियो । शीर्ष नेताहरुको बैठकमा शान्ति प्रक्रियालाई टुुङ्गोमा पु¥याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग गठनलगायतका विषयमा छलफल भएको वैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव बस्नेतले जानकारी दिनुभयो ।


नेता बस्नेतले छलफल शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा केन्द्रीत रहेको उल्लेख गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको तर पूर्णता पाउन नसकेको अवस्था रहेकाले अहिले सर्च कमिटीलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अघि बढाउने भन्नेबारेमा शीर्ष तीन दलका नेता सहमत भएको बताउनुभयो ।

माओवादी केन्द्रका उपमहासचिव बस्नेतले जनाए अनुसार एक/दुई दिनभित्रै बस्ने मन्त्रिपरिषद्को बैठकले सर्च कमिटीलाई पूर्णता दिने गरी निर्णय गर्नेछ । सर्च कमिटीलाई पूर्णता दिएपछि आयोग गठनको प्रक्रिया औपचारिक रुपमा सुरु हुने नेता बस्नेतको भनाइ थियो । सर्च कमिटीले पूर्णता प्राप्त गरेको निश्चित समयभित्र आयोग गठन टुङ्गिनुपर्ने कानुनी व्यवस्थाअनुसार निर्धारित समयभित्रै आयोगले पूर्णता प्राप्त गर्ने नेता बस्नेतले दावी गर्नुभयो । प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनसक्ने आयोग गठन हुने विश्वास व्यक्त गर्नुभएको थियो । मुख्य तीन दलका शीर्ष नेताहरुको बैठकमा महान्याधिवक्ता रमेश बडालसमेत सहभागी रहेको थियो ।