फाइल तस्वीर
काठमाडौँ, कात्तिक १ गते ।
निर्वाचन आयोगले स्थानीय तहको रिक्त स्थानहरुको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न आग्रह गरेको छ । आयोगले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहनेगरी मनोनयन गर्न राजनीतिक दलहरुलाई निर्देशनात्मक आग्रह गरेको हो ।

आयोजका प्रवक्ता नारायणप्रसाद सापकोटाद्वारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा ‘स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ’, भनि उल्लेख गरिएको छ ।

आयोगले यसअघि नै उपनिर्वाचनका कार्यतालिका सार्वजनिक गरिसकेको छ । आयोगको कार्यतालिका अनुसार लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गराउनुपर्ने छ । हालसम्म विभिन्न कारणले रिक्त हुन आएका स्थानीय तहका विभिन्न पदहरु मङ्सिर १६ गते उपनिर्वाचन गर्ने कार्यक्रम तय भइसकेको छ । अहिलेसम्म रिक्त हुन आएका स्थानीय तहका ४० पदमा उपनिर्वाचन हुँदैछ । रिक्त रहेका स्थानीय तहमध्ये नगरपालिकाको एक प्रमुख र एक उपप्रमुख, गाउँपालिकाको दुई अध्यक्ष र चार उपाध्यक्ष, जिल्ला समन्वय समितिका दुई प्रमुख पदका साथै विभिन्न २१ नगरपालिका वडाध्यक्ष र नौ गाउँपालिका वडाध्यक्षको पदमा उपनिर्वाचन हुँदैछ ।

eee