फाइल तस्वीर
काठमाडौँ, कात्तिक १ गते । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गत असोज दोस्रो साताको बाढी–पहिरोबाट भएको क्षतिको विवरण १५ दिनभित्र सङ्कलन गरी तत्काल पुनःनिर्माण र पुनःस्थापनामा केन्द्रित हुन तीन तहकै सरकारसँग आग्रह गर्नुभएको छ ।

सरकारले विपद् प्रभावित १६ जिल्लाका ७२ स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा निर्धारित समयभित्रै पुनःनिर्माण र पुनःस्थापना गर्नेगरी काम गर्न तीनै तहका सरकारसँग आग्रह गर्नुभएको हो ।

“विपद्मा जनतालाई आशा दिन सक्नुपर्छ । सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहिलो पहल गर्नुपर्छ ।”–सभापति खतिवडाले भन्नुभयो ।

गत असोज १० र १२ गते परेको अविरल पानी र यसले पारेको प्रभावका बारेमा सरकार अझ चिन्तित भएर लाग्नुपर्ने बताउँने नेता खतिवडाले ‘धेरै ठूलो संरचना ध्वस्त भएका छन् । वर्षौं समय र अर्बौं बजेट खर्च भएका संरचना एकै क्षणमा नष्ट भएका छन् । विपद्बाट जनधनको ठूलो क्षति भएको छ । विद्युतका पोलहरु घेरै बगाएको छभने बस्ती नै उठिबास बनाएको छ । सङ्कटग्रस्त घोषणा गरेर मात्र हुँदैन, अब सरकारले दु्रततर गतिमा सङ्घले प्रदेश र प्रदेशले स्थानीय तहलाई परिचालित गरेर सम्बन्धित ठाउँमा पुगेर पुनःनिर्माण र पुनःस्थापना गर्नुपर्छ’— भन्नुभयो ।

सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेसँगै युद्धस्तरमा बाढी–पहिरो पीडितको पुनस्र्थापनका लागि तिव्रताका साथ काम गर्नुपर्नेमा जोड दिंदै काङ्ग्रेस नेता खतिवडाले बजेट सरकारसँग बजेट कति छ, अपुग कति हो, त्यसको तथ्याङ्क यकिन गर्नुपर्ने बताउनुभयो । स्थानीय तहबाट १५ दिनमा क्षति र प्रभावितको तथ्याङ्क लिएर बाँकी समय पुनःनिर्माण र पुनःस्थापनामा लाग्नुपर्नेमा जोड दिने नेता खतिवडाले पुनःनिर्माणका नाममा वर्षौंसम्म लाग्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । 

सरकारले गतवर्ष जाजरकोट र रुकुममा गएको भूकम्पबाट क्षतिग्रति संरचना र पीडितहरुको पुनस्थापना हुन नसकेको उल्लेख गर्दै नेता खतिवडाले पीडितले अझैसम्म राहत नपाएको गुनासो व्यक्त गर्नुभयो । वि.सं.२०७२ मा गएको विनाशकारी भूकम्पका पीडित गोरखाका जनताले समेत अझै पूर्णरुपमा राहत पाउन नसकेको भन्दै सरकारले असोज दोस्रो सातामा आएको बाढी पहिरोबाट क्षति पुगेका स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको केवल ‘जनताको आँखामा छारो’ हालेको जस्तो मात्रै गरेको छ । सरकारले जनताको राहत र पुनःस्थापनाका लागि द्रुत रुपमा काम गर्न पर्ने काङ्ग्रेस नेता खतिवडाले बताउनुभयो ।

मुलुकका बारेमा सिङ्गो सरकारले सोच्नुपर्छ, अहिले पनि थुप्रै सडक अवरुद्ध छन्, तिनलाई तत्काल सञ्चालनमा ल्याउनुपर्छ । एकै वर्षमा नसकिएला तर पूर्वाधारका लागि आवश्यक सामग्री जुटाउन राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सहयोगका लागि आह्वान गर्नुपर्छ ।

काङ्ग्रेस नेता खतिवडाले ओखलढुङ्गामा पाँचरछवटा झोलुङ्गेपुल ध्वस्त भएका छन् । तत्काल नयाँ पुल निर्माण आवश्यक छ । चम्पादेवी, मानेभञ्ज्याङ र सुनकोशी गाउँपालिकामा ठूलो क्षति भएको छ । सुनकोशीसँगै दूधकोशी नदी किनारमा पनि केही असर भएको उल्लेख गर्नुहुँदै केही स्थानमा बस्ती खतरामा छन्, त्यहाँ बस्न लायक घरहरु छैनन्, स्थानीय विस्थापित भएका छन् । विशेषगरी खानीजन्य तथा क्रसर उद्योग व्यवस्थित नगर्नाले पनि त्यसको प्रभाव परेको बताउनुभयो।

योजनाबद्ध विकास र पुनःनिर्माण गर्न कानुन निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गर्दै काङ्ग्रेस नेता खतिवडाले प्राकृतिक स्रोतको अत्यधिक दोहन मात्रै गरिँदा यसबाट कस्तो क्षति भोग्नुपर्दो रहेछ भन्ने देखाएको बताउनुभयो । सांसद खतिवडाले नदी किनारका बस्ती व्यवस्थित गर्नुपर्ने भएकोले यसतर्फ सरकारले समयमै ध्यान दिनपर्नेमा जोड दिनुभयो ।