काठमाडौँ, असोज ३० गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । जसअनुसार पेट्रोल र डिजेलको मूल्य बढेको हो । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएपछि नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ मुल्य वृद्धि गरेको हो ।
मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर एक सय ५६।५०, दोस्रो वर्गमा एक सय ५८ र तेस्रो वर्गमा एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा एक सय ४८।५०, दोस्रो वर्गमा एक सय ५० र तेस्रो वर्गमा एक सय ५१ कायम भएको छ ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।