फाइल तस्वीरः राष्ट्रपति रामचन्द्र पौडेल ।
काठमाडौँ, असोज २६ गते ।
राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने भएको छ । राष्ट्रपति पौडेलले शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको हो ।


विजयादशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनुहुनेछ । साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ । 

राष्ट्रपतिले ९४ वर्षीय दाजुको हातबाट टीका लाउने
राष्ट्रपति पौडेलले बडा दशैँ २०८१ का अवसरमा विजयादशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउनुहुने भएको छ । राष्ट्रपति पौडेलले दाजु डुण्डराजबाट यस वर्षको दशैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्नुहुने भएको हो । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नुहुनेछ ।

राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान यस वर्षको दशैँको शुभ साइत ११ः३६ बजे टीका र जमरा ग्रहण गर्नुहुनेछ ।  

सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिनुहुने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।