फाइल तस्वीरः सभामुख देवराज घिमिरे ।
काठमाडौँ, असोज २६ गते ।
सभामुख देवराज घिमिरेले दशैँले समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले यस अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै यस्तो बताउनुभएको हो । “असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश हो । यसको सांस्कृतिक, धार्मिक र सामाजिक महत्व रहेको छ । दसैँले देवी दुर्गाप्रति आस्था अभिवृद्धिसँगै परिवार र समुदायबीचको सम्बन्धलाई बलियो बनाउन उत्तिकै भूमिका खेलेको छ । समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत गरेको छ”, सभामुख घिमिरेले भन्नुभएको छ । 

पछिल्लो समय नेपाली हिन्दूले मात्र नभई अन्य धर्म–सम्प्रदायले समेत दसैँ मनाइरहेको सन्दर्भमा दशैँ सबै नेपालीको साझा चाडका रूपमा विकास भएको उल्लेख गर्नुहुँदै उहाँले दशैँ नेपालीहरूको लोकचाडका रुपमा समेत स्थापित हुँदै गएको बताउनुभयो । 

शुभकामना सन्देशमा भनिएको छ, “परिवारका सदस्य, नातागोता तथा आफन्तबीच आत्मीयता साटासाट गर्ने, ठूलाबडाबाट टीका र जमरा थापेर आशिष लिनेजस्ता दशैँका मौलिक विशेषता छन् । पछिल्लो समय हिन्दूले मात्र नभई अन्य धर्म–सम्प्रदायलेसमेत मनाइरहेका सन्दर्भमा दशैँ सबै नेपालीको साझा चाडका रूपमा विकास भएको छ ।”

सभामुख घिमिरेले दशैँ को पूर्वसन्ध्यामा असोज दोस्रो साता मनसुनी प्रभावका कारण देशभर बाढी, पहिरोले जनजीवन अस्तव्यस्त बनाएको सन्दर्भमा सुरक्षित र सावधानीपूर्वक यात्रागरी दशैँ मनाउनुहुन अनुरोध गर्नुभएको छ । “बाढी, पहिरोले यातायातलाई प्रभावित बनाएको छ भने ठूलो सङ्ख्यामा नेपाली नागरिकलाई घरबारविहीन बनाएको अवस्था छ । तसर्थ, सुरक्षित र सावधानीपूर्वक यात्रागरी दशैँ मनाऔँ । चाडबाडले धेरै परिवारका लागि आर्थिक चुनौती ल्याउनेतर्फ सचेत गराउँदै मितव्ययी र स्वस्थ खर्च प्रणाली अपनाउन आह्वान गर्दछु”, उहाँले उल्लेख गर्नुभयो ।