प्रधानमन्त्री ओली पार्टी कार्यालयको नयाँ भवनको शिलान्यास गर्दै ।
काठमाडौँ, असोज २५ गते ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गर्नुभएको छ । कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माण गर्न लागिएको पार्टी केन्द्रीय कार्यालयको आज शुक्रबार शिलान्यास भएको हो ।

उद्यमी व्यवसायी मीनबहादुर र सावित्री गुरुङले प्रदान गर्नुभएको १० रोपनी १४ आना जग्गामा पार्टी मुख्यालयको नयाँ भवन निर्माण हुने एमालेका महासचिव शङ्कर पोखरेलले बताउनुभयो । ललितपुरको बालकुमारीस्थित च्यासलमा रहेको हालको पार्टी कार्यालयमा असोज दोस्रो साता आएको बाढीले क्षति गरेपछि एमालेले कीर्तिपुरको मैत्रीनगरमा नयाँ भवन निर्माण गर्न लागेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी गराउनुभएको थियो ।

यसैबीच, व्यवसायी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको बताउनुभयो । एमालेको केन्द्रीय कार्यालय भवन आगामी एक वर्षभित्र निर्माण हुने बताइएको छ ।