काठमाडौँ, असोज २५ गते ।बिहानदेखि दशैँको खर्च जोहो गरौँ भनेको दिउँसो भइसक्यो अहिलेसम्म गोजी रित्तो छ” यो भनाई हो, चुरोटको सर्को तान्दै आफ्नो दुखेसो बिसाउनुभएका भरिया धनबहादुर खत्रीको । नयाँसडकको बन्द पसलको अगाडि घमाइलो दिनमा पनि ज्याकेटले छापेको शरीर, शीरमा बाक्लो टोपी अनि काँधमा झुण्डिएको नाम्लो ।


अलिक परको टुँडिखेलमा दशैँको फूलपातीको उत्सव मनाइरहँदा खत्री भने न्यूरोडमा भारी बोक्ने काम खोज्दै हुनुहुन्थ्यो । दशैँ लागेका मानिसहरु गोजीभरी पैसा बोकेर न्यूरोडका पसल चहार्दा खत्री भने गोजी तातो बनाउने खोजीमा देखिनुहुन्थ्यो । हामीले सोध्यौँ, “दशैँ लाग्या छैन दाजु ?”

“खोइ सर, लाग्न त लाग्यो तर मलाई त्यति स्वाद छैन, बिहान आइपुगेको दिन ढल्न लाग्दा पनि काम पाइएको छैन, गोजी रित्तो हुँदा दशैँ आयो कसरी भन्नु ?” बिहीबार बिहानै घरबाट निस्किनुभएको खत्रीले दिनभरी नयाँसडक, असन, भोटेबाहलका गल्ली र पसल चाहर्दा पनि काम पाइएको छैन । आज रित्तो हात फर्कनुपर्छ कि भन्दै सुस्ताउनुभयो । “हिजो अस्ती त काम जति पनि पाइएको थियो, आज पाइएन, रमाइलो भएन”, खत्रीको कथन थियो। 

धनबहादुरको मन दिनभरी राम्रो आम्दानी नभएपछि खिन्न छ । “बिहान परिवारसँग मरमसला, कपडालगायतका सामग्री लिएर आउँछु है भन्दै कामको खोजिमा बजार छिरेको थिएँ, तर आज रित्तो हात फर्कनुको विकल्प भएन”, धनबहादुरको चिन्ता भल्किएको देखिन्थ्यो । 

हरेक दिन भारी बोकेर मजदुरी गर्दै आएका   धनबहादुरले यही कमाईले घरखर्च र परिवारको रेखदेख गर्नुपर्ने दायित्व छ । धनबहादुरको घरपरिवार पनि दिउँसोको कमाइले दशैँका सामान किन्ने योजनामा बसेको छ । 

विगत २७ वर्षदेखि भारी बोक्ने काम गर्दै आएको धनबहादुरले केही समय रिक्सा पनि चलाए । त्यो पेसाबाट भने जस्तै आम्दानी नभएपछि भारी बोक्न फेरि नाम्लो समाएका रहेछन् । उमेरले ६५ वर्ष कटिसक्नुभएका धनबहादुर अहिले पनि ५० देखि ६० लिलोसम्मको भारी बोक्दै हिँड्हुन्छ । 

धनबहादुरमात्रै होइन, न्यूरोडमा ज्यामी काम गर्ने ओखलढुङ्गाका ढाकाराज सुनुवारलाई पनि दशैँ लागिसकेको छैन । बन्दै गरेको घरमा मार्बल घोट्दै गर्नुभएका ढाकाराजले पनि धनबहादुरको जस्तै व्यथा सुनाउनुभयो ।

फूलपातीको दिन न्यूरोड क्षेत्रमा नयाँ कपडा किन्ने ग्राहक र व्यापारीको होहल्ला चलिरहँदा सुनुवारलाई त्यसको कुनै आभाष छैन । “खोइ, दशैँ आयो त भन्छन्, हुने खानेलाई आयो होला । हामीजस्तालाई त आएको छैन । यसरी काम गर्नुपरेको छ, कसरी दशैँ मान्नु, तै पनि परम्परा धान्न भए पनि दशैँ त मान्नै परो”, ढाकाराजको भनाइ थियो । 

नेपालीहरुको महान चाड बडा दशैको फूलपातीका दिन गाउँ तथा सहरमा पर्वको उल्लास छाइरहँदा खत्री र सुनुवार जस्ता भरियालाई दशैँ आयोभन्दा पनि दशैँका लागि खर्च जोहोकै चिन्ता छ । उहाँहरु नाम्लो काँधमा हालेर दुई छाकटार्ने हुटहुटीमा न्यूरोड, असन, इन्द्रचोक महाबौद्धलगायत गल्ली र पसलमा चहारिरहनुभएको छ । 

सीमित आम्दानीले परिवारको खर्च धान्नुपर्ने परिस्थितिकाकारण गाउँ जान नसकेका उहाँहरुलाई सहरमा बसेर दशैँ मनाउन पनि सास्ती छ । भरियामध्ये कतिपयत गाउँ फर्किसके । परिस्थितिले परिबन्धनमा परेका केही भरियालाई भने दशैले यसपाली घर बोलाएन ।

त्यसैले ओखलढुङगाका यी २५ वर्षीय ढाकाराजले जेनतेत यसपाली सहरमै दशैँ मनाउने निधो गर्नुभएको रहेछ । “कमाई पनि राम्रो छैन, बाटोघाटो पनि त्यस्तै छ, स–साना बालबालिकालाई कच्चीबाटोमा कसरी लैजाने । बरु जे जसरी हुन्छ यो पटक आफ्नो जेथो अनुसारको दशैँ मनाउछौँ”, ढाकाराजले भन्नुभयो । 

घर बनाउने काम गर्दै आउनुभएका  अर्घाखाँचीका सुनील रानामगर पनि परिस्थितिले दशैँमा घर जान पाउनुभएन । “दसैँमा घर जान भने जस्तो पैसा भएन । फेरि दशैँमा अनावश्यक खर्च पनि हुने भएकाले यसपाली घर जान मनले मानेन”, सुनीलले भन्नुभयो ।

रानामगर मात्रै होइन, दोलखाका माइला भुजेलले पनि यसपाली दशैँका लागि घर जाने बसको टिकट काट्नुभएन । माइलाले काम गरिरहेको घरमा भर्खरै ताला लागेको छ । श्रीमती र कान्छा छोरा भारतमा उपचारको क्रममा छन् । दशैँमा काठमाडौँमा मजदुरी गरिरहेका माइलाले भन्नुभयो –“परिवार पनि लाखापाखा छन्, आर्थिक अवस्था पनि त्यस्तै छ, कसरी गाउँ जाने, जे जसो भएपनि सहरमै दिउँसो मजदुरी गरेर साँझ पेट पाल्नुपरेको छ ।”