फाइल तस्वीर भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा
काठमाडौँ, असोज २४ गते । असोज १० गते मध्यरातदेखि परेको अविरल भीषण परेको पानीका कारण आएको बाढी–पहिरोबाट तहस नहस भएको बीपी राजमार्गमा अल्पकालिन डाइभर्सन बनाएर भोलिदेखि सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डाइभर्सन बनाइएको र भोलि शुक्रबार बिहान १० बजेसम्ममा उक्त राजमार्ग सञ्चालनमा आउने कुराको जानकारी गराएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस कुराको सार्वजनिक गर्नुभएको हो ।

यही असोज ११ र १२ गतेको वर्षा र बाढीले बीपी राजमार्गका ठाउँ ठाउँमा क्षति पु¥याएको थियोे । उक्त राजमार्गमा यतिबेला सवारी आवागमन अवरुद्ध छ । उक्त राजमार्गमा सवारी साधान सञ्चालन गर्न द्रुतगतिमा मर्मत र डाइभर्सन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । बीपी राजमार्ग तत्काल खुलाउन मन्त्रालयका सचिव शर्मा आफैं प्राविधिकहरु लिएर फिल्डमा खटिनुभएको छ ।

प्रधानमन्त्री ओलीसँग आज बिहान भएको कुराकानीमा सचिव शर्माले शुक्रबार बिहान १० बजेपछि बीपी राजमार्ग सञ्चालनमा आउने जानकारी गराउनु भएको थियो । आज दिनभर र रातभर काम गर्दा बाँकी तीन ठाउँको अवरोध पनि हट्ने र राजमार्ग खुलेपछि मात्रै आफूले दशैं मनाउने जानकारी सचिव शर्माले जानकारी गराउनुभएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो फेसबुकमा, ‘बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनुभएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इञ्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका– ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ । उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ । आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । भोलि राजमार्ग खुलेपछि मात्र दशैं मान्ने बताउनु भयो’— उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा सडक खुलाउन अहोरात्र खटिएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवादसमेत दिनुभएको छ ।