फाइल तस्वीर, एमाले सचिवालय बैठक ।
काठमाडौँ, असोज २४ गते ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले कीर्तिपुरस्थित मैत्रीनगरमा पार्टी कार्यालय बनाउने भएको छ । एमालेको आज बिहीबार ललितपुरको च्यासलस्थित मुख्यालयमा बसेको सचिवालय बैठकले कीर्तिपुरमा पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन बनाउने निर्णय गरेको हो ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालय पटक पटक बाढीको चपेटामा परेको र काठमाडौंको बल्खुस्थित पार्टी कार्यालय पनि २०७२ साल बैशाख १२ गते आएको विनासकारी भूकम्पबाट क्षति भएकोले एमालेले सुरक्षित र स्थायी रुपमा पार्टी मुख्यालयको नयाँ भवन बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी गराउनुभएको हो ।

शुक्रबार कीर्तिपुर नगरपालिका–२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास सिलान्यास गरिने नेता ज्ञवालीले बताउनुभयो ।

यसैगरी आज बसेको सचिवालय बैठकले बाढी–पहिरोको विपद्पछि पुनः निर्माण, पुनः स्थापना र राहत कार्यमा जुट्न पार्टीका नेता÷कार्यकर्ता र जनप्रतिनिधिलाई आह्वान गरेको छ ।

एमालेले आगामी मङ्सिरमा हुने स्थानीय तहको उपनिर्वाचन हुने स्थानहरुका पार्टी कमिटी र त्यस वरपरका कमिटीलाई सक्रिय रूपमा परिचालन गरी एमालेको विजयलाई सुनिश्चित गराउन तदनुरूप तयारी गर्न आह्वान गर्ने जनाएको छ ।