फाइल तस्वीर
काठमाडौँ, असोज २४ गते ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दशैंको अवसरमा अहिलेसम्म आठ लाख यात्रुहरुले काठमाडौँ उपत्यका छाडेको जनाएको छ । दशैं पर्व मनाउन अहिलेसम्म आठ लाख मानिसहरुले उपत्यका छाडेको महासङ्घले जनाएको हो ।
महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा दशैं पर्व मनाउन यात्रुहरु उपत्यका बाहिर जाने अनुमान गरेको छ । महासङ्घका अध्यक्ष विजय स्वारले यस वर्षको दशैंमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी–पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताउनुभयो । “सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,” उहाँले भन्नुभयो, “उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौमै दशैं मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन् ।”

उहाँका अनुसार शुक्रबारसम्म दसैँका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्याङ्क आउन बाँकी छ । “आज कति यात्रु बाहिरिनुभएको छ, साँझसम्म यो क्रम जारी रहन्छ, शुक्रबार पनि बाहिरिन्छन्,” स्वारले भन्नुभयो । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दशैंमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनीकरण गर्न सजगताका साथ राजमार्गहरुमा ‘चेक’ भइरहेको जानकारी दिनुभयो ।