फाइल तस्वीर
काठमाडौँ, असोज २४ गते ।
नेपाल विद्युत प्राधिकरणले सात अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात छ । नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना साउन र भदौमा भारतमा उक्त रकम बराबरको विद्युत निर्यात गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ । यसमध्ये गत साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट र भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरेको जनाएको छ । यसबाट प्राधिकरणले साउनमा तीन अर्ब ९९ करोड ५६ लाख रुपैयाँ र भदौमा तीन अर्ब ५५ करोड पाँच लाख रुपैयाँ आर्जन गरेको थियो ।

प्राधिकरणले दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट सात रुपैयाँ ३३ पैसा रहेको छ । साउनको प्रतियुनिट औसत दर आठ रुपैयाँ ११ पैसा र भदौमा छ रुपैयाँ ६२ पैसामा विद्युत निर्यात गरेको बताएको छ ।

भदौ तेस्रो सातामा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपियाँ विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौको दोस्रो हप्तामा ६९ करोड आठ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ मा हुने गरेको छ । त्यसैले चालु आवको दुई महिनामा चार अर्ब ७१ करोड ६३ लाख भारतीय रुपियाँ बराबरको विद्युत् बिक्री भएको हो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ ।

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । बाढीपहिरोभन्दा पहिले दैनिक रूपमा नौ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको थियो । अहिले दैनिक रूपमा डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको प्राधिकरणले जनाएको छ । असोज १०देखि १२ गतेसम्म परेको अविरल भारी वर्षाका कारण आएको बाढीपहिरोले सबैभन्दा ठुलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी सहितका अन्य आयोजनाहरुमा क्षति पुगेका कारण अहिले करिब ७५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपियाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब छ करोड रुपियाँको विद्युत् निर्यात गरिएको थियो ।