साङ्केतिक तस्वीर
रुकुम पश्चिम, असोज २४ गते ।
नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको जिप दुर्घटना हुँदा १६ जना यात्रुहरु घाइते भएका छन् । चौरचहारीका लागि हिँडेको उक्त फोर्स कम्पनीको जिप सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा आज बिहीबार बिहान ४ बजे दुर्घटनामा परेको हो ।

लु २ ख ५००२ नम्वरको फोर्स गाडी दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय रागेचौरले जनाएको छ । प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार दुर्घटनामा परेका १६ जना यात्रुमध्ये चारजनाको अवस्था गम्भीर रहेको र १२ जना सामान्य रहेको छ । घाइते सबै यात्रुहरुको उद्धार गरी गम्भीर घाइते भएका चार जनाको चौरजहारी अस्पतालमा उचारका लागि ल्याइएको छ । उक्त जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।