फाइल तस्वीर
काठमाडौँ, असोज २४ गते ।
असोज दोस्रो साता देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोड रुपैयाँ बराबरको क्षति भएको छ । सो कुराको जानकारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको हो ।

महासङ्घले असोज १० गते मध्यरातदेखि परेको भीषण अविरल वर्षाका कारण यातायात क्षेत्रमा ७२ करोड ९८ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको बताएको छ ।

क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको ११ करोड ८८ लाख ८० हजार रुपैयाँ, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको दुई करोड ८५ लाख रुपैयाँ, गोरखा दरौँदी यातायात सेवा कम्पनीको ६० लाख रुपैयाँ बराबरको क्षति भएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले बताउनुभयो ।

यस्तै, बाग्मती टिपर व्यवसायी सङ्घको २७ करोड रुपैयाँ, नेपाल ट्रक टिपर व्यवसायी सङ्घको २० करोड रुपैयाँ, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको छ करोड ६५ लाख रुपैयाँ र रसुवागढी नाकामा चार करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले देशभर सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरेर बुधबार गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा बुझाइएको जानकारी दिनुभयो ।