काठमाडौँ, असोज २२ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत यस वर्ष बिक्री वितरण भइरहेका खसीबोका र च्याङ्ग्रा उपभोक्ताको रोजाइमा परेका छन् । निजी क्षेत्रभन्दा सस्तो मूल्यमा स्वस्थ खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न पाउँदा उपभोक्तासमेत मख्ख देखिन्छन् । कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयमा खसी किनेर डोहो¥याइरहनुभएकी घट्टेकुलो निवासी बिनु भुर्तेलले अघिल्लो वर्षको तुलनामा यस वर्ष सस्तो र राम्रो खसी भेटिएको प्रतिक्रिया दिनुभयो ।

कम्पनीले यस वर्ष जीउँदो खसीबोकाको मूल्य प्रतिकिलो छ सय ७० तथा च्याङ्ग्राको मूल्य प्रतिकिलो एक हजार दुई सय ३० कायम तोकेको छ । उपभोक्तालाई सो मूल्यमा प्रतिकिलो १० छुट दिइएको कम्पनीका सहायक विभागीय प्रबन्धक ज्ञानु थापा बताउनुहुन्छ । 

यस वर्षको दसैँलाई लक्षित गरेर विभिन्न स्थानबाट एक हजार चार सय खसीबोका तथा तीन सय वटा च्याङ्ग्रा भित्र्याउनेक्रम जारी छ । नवलपुरबाट विभिन्न सहकारीमार्फत पाँच सय, हेटौँडाबाट पाँच सय र दाङबाट चार सय खसीबोका तथा मुस्ताङबाट च्याङ्ग्रा खरिद गरिएको हो । हालसम्म छ सय ९३ खसीबोका तथा च्याङ्ग्रा बिक्री भइसकेका छन् । कम्पनीले यही असोज १९ गते चार सय खसीबोका तथा च्याङ्ग्रा काठमाडौँ भित्र्याएको थियो । असोज २० गतेदेखि थापाथलीस्थित कम्पनीको प्रादेशिक कार्यालयबाट खसीबोका बिक्री भइरहेको छ ।  

गत वर्षको तुलनामा यस वर्ष खसीबोकामा प्रतिकिलो रु १० तथा च्याङ्ग्रामा प्रतिकिलो रु ३० कम मूल्य निर्धारण गरिएको छ । कम्पनीले भित्र्याएको खसीबोका तथा च्याङ्ग्राको मूल्य सस्तो तथा स्वस्थ्य भएका कारण पनि उपभोक्ताले रुचाएको सहायक विभागीय प्रबन्धक थापाले बताउनुभयो । “धेरै सङ्ख्यामा रहेका खसीबोका तथा च्याङ्ग्रा छानिछानी खरिद गर्नसक्ने भएका कारण पनि उपभोक्ताको आकर्षण बढेको हो”, उहाँले भन्नुभयो, “उपभोक्ताले खुसीका साथ रोजीरोजी खसीबोका खरिद गरिरहनुभएको छ ।”

बजार मूल्यलाई हस्तक्षेप गर्न पनि खसीबोका तथा च्याङ्ग्रा बिक्रीलाई कम्पनीले निरन्तरता दिइएको उहाँको भनाइ छ । कम्पनीले निर्धारण गरेको बिक्री मूल्यलाई आधार मानेर निजी क्षेत्रका व्यवसायीले पनि मूल्य तोक्ने हुँदा बजारमा मूल्य नियन्त्रण गर्न सघाउ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  कम्पनीले नेपालीहरूको प्रमुख चाड दसैँ, तिहार, छठलगायत पर्वलाई लक्षित गरेर सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याएको छ । चाडपर्वमा खाद्यान्नको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुने, कृत्रिम अभाव तथा कालोबजारी बढ्ने अवस्थालाई ध्यानमा राखेर सहुलियत मूल्य पसल सञ्चालन गरिएको सहायक विभागीय प्रबन्धक थापाको भनाइ छ । “सहुलियत पसलमा विगतदेखि नै उपभोक्ताको निकै आकर्षण देखिँदै आएको छ”, उहाँले भन्नुभयो । 

यस वर्ष पनि ४२ जिल्लाका ६३ स्थानमा सहुलियत पसल सञ्चालनमा आएको छ । बागमती प्रदेशमा छ वटा ‘आउटलेट’बाट उपभोक्ताले सहुलियत मूल्यमा खाद्यान्न खरिद गर्नसक्ने कम्पनीले जनाएको छ । 

कम्पनीले सूचना प्रविधिको उपयोग गर्दै अनलाइनबाट खाद्यान्नको अर्डर लिएर उपभोक्ताको भान्छासम्म पु¥याउँदै आएको छ । सहुलियत पसलमार्फत चामल तथा दालमा प्रतिकिलो रु पाँच र खाने तेलमा प्रतिलिटर रु सात छुट दिइको छ । कम्पनीले सुपथ मूल्य पसलमार्फत चामल, दाल, गेडागुडी, तेल, नुन, चिनी, ग्यास तथा दुग्धजन्य पदार्थलगायत ३० प्रकारका उपभोग्य वस्तु बिक्री भइरहेको जनाएको छ । यसरी बिक्री गर्ने उपभोग्य वस्तुको गुणस्तरमा प्रश्न नउठ्ने गरी व्यवस्थापन गरिएको जनाउनुहुँदै सहायक विभागीय प्रबन्धक थापा खाद्यान्न प्रशोधनका विभिन्न चरणमा प्राविधिक परीक्षण अनिवार्य गरिएको बताउनुहुन्छ । “कम्पनीका फुड टेक्नोलोजिस्टले खाद्यान्नको नमुना लिएर मापदण्ड पुगेको÷नपुगेको जाँच गर्नुहुन्छ, निर्धारित मापदण्ड पुगेका खाद्यान्न मात्रै कम्पनीले खरिद गर्छ”, उहाँले भन्नुभयो, “गुणस्तरमा प्रश्न नआउने गरी व्यवस्था गरेका छौँ, उपभोक्ता ढुक्क हुनुभए हुन्छ ।”