काठमाडौँ, असोज २१ गते । नेपाल जाइका अलमनाई एशोसियशन (जान) ले ललितपुरको गोदावरी नगरपालिका वडा नं ५ र ६ का बाढीपहिरो प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको छ । जानले जापान नेपाल सोसाइटी, समृद्धिका लागि यथायोग्य कार्य संस्था (आइस्याप) र आफ्ना केही सदस्यहरुको सहयोगमा आज पीडित ९४ परिवारका लागि चार हजार किलो खाद्य सामग्री वितरण गरेको हो ।

जान र आइस्यापको संयुक्त टोलीले वडा कार्यालयसँगको समन्वयमा पीडितको घरदैलोमा पुगी नामावली तयार गरी राहत सामग्री उपलब्ध गराएको जानका अध्यक्ष डा रामचन्द्र भुसालले जानकारी दिनुभयो ।

जानले यसवर्षको दसैँ भेटघाट कार्यक्रम रद्द गरी सो कार्यक्रममा खर्च हुने रकम बाढीपहिरो पीडितलाई सहयोग गर्ने निर्णय गरेको उहाँको भनाइ छ । सो क्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफ्नो नगर क्षेत्रभित्र सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्न तथा विपद्मा परेका परिवारलाई राहत सामग्री उपलब्ध गराएकामा आभार प्रकट गर्नुभयो ।

गोदावरी नगरपालिका वडा नं ५ का वडाध्यक्ष मिलन सिलवालले जानले लेले क्षेत्रको समग्र विकासमा र प्राकृतिक विपद् पर्दा जहिल्यै सहयोग गर्दै आएको स्मरण गर्नुभयो । वडा नं ६ का अध्यक्ष विष्णुमान महर्जनले जान, आइस्याप र जापान नेपाल सोसाइटीबाट भएको यस किसिमको राहत सामग्री वितरणबाट दसैँमा पीडितलाई टेवा मिलेको बताउनुभयो ।

जानले ललितपुरको लेले क्षेत्रमा विगत लामो समयदेखि सामुदायिक विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।