फाइल तस्वीर
सर्लाही, असोज २१ गते ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्तिम समय भइसक्दा पनि यहाँका पालिकाको खाता सञ्चालन नहुँदा तलबभत्ता भुक्तानीमा समस्या भएको छ । दसैँलगायत चाडपर्व आइसक्दासमेत कर्मचारीले तलबभत्ता र सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीले रकम पाउन सकेका छैनन् । जसले गर्दा यसपटकको चाडपर्व खल्लो हुने भन्दै कर्मचारी तथा लाभग्राहीहरू निरास छन् ।

जिल्लाको चन्द्रनगर गाउँपालिका–६ की ५३ वर्षीया रतियादेवी माझीले सरकारले दिने सामाजिक सुरक्षाभत्ताले यसपटकको दसैँ तिहार मनाउने योजना बनाउनुभएको थियो । सोही भत्ता रकमले छ जनाको परिवारमा खुसी ल्याउने योजना कार्यान्वयन नहुने भएपछि उहाँ निराश हुनुहुन्छ । “श्रीमानको मृत्युपछि परिवारको लालनपालनको जिम्मा मेरै काधँमा छ । घरमा दिगो आम्दानी गर्ने व्यक्ति नहुँदा ज्याला मजदुरीबाट आएको पैसाले परिवारको दुई छाक टार्नसमेत मुस्किल छ । भवितव्य परिहाले ऋण गर्नुको विकल्प छैन । यसपटक चाडपर्व सोही रकमले धान्ने योजना थियो तर हालसम्म रकम आएको छैन”, उहाँले भन्नुभयो, “तीन महिना बित्न लाग्यो रकम नपाएको, कार्यालयमा जाँदा आएको छैन भन्छन् सरहरुले । दसैँमा बालबालिकालाई मीठो मसिनो ख्वाउला साचेको अब नसकिने भो ।”

जिल्लाको गोडैता नगरपालिका–१, पिपरियाका महेन्द्र कुशवाहा पनि भत्ता नआएपछि छटपटीमा हुनुहुन्छ । दमको दीर्घरोगी उहाँलाई चाडबाडसँगै औषधिमूलो किन्नसमेत समस्या भएको छ । “भत्ताकै पैसाले औषधि किनेर खाने गरेको छ । आयआर्जनको अर्को उपाय छैन । नातिनातिना दसैँ आयो भन्दै आउँछन् । मिठाई किनेर दिनेसमेत क्षमता छैन”, उहाँले गुनासो गर्नुभयो ।  

उहाँजस्तै समस्या छ नगरमा काम गर्ने कर्मचारीहरूको पनि । कविलसी नगरपालिका–२, स्थित बालगोविन्द जनता मावि पिपरियाका शिक्षक वीरेन्द्र साहले विभिन्न कारणले पालिकाको खाता सञ्चालन हुन नसक्दा तलबभत्तासमेत नपाएको दुःखेसो पोख्नुभयो । चाडबाडको समयमा तलब नपाउँदा शिक्षकशिक्षिकालाई घरजानसमेत समस्या भएको उहाँले बताउनुभयो । “दसैँ जस्तो चाडबाडको समय छ । घर जाँदा छोराछोरीले मीठोमसिनो, लत्ताकपडा माग्छन्, आफूले पारिश्रमिक पाएको छैन । कसरी घर जाने !”, उहाँले भन्नुभयो । 

यस पालिकाकामा आन्तरिक विवादका कारण हालसम्म नगरसभाबाट बजेट पारित हुनेसकेको छैन । त्यसैकारण आर्थिक कारोबार ठप्प छ ।

यस्तै, बसवरिया गाउँपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब जयलाल सहनीले तलबभत्ता नपाउँदा ऋण काडेर चाडबाड मनाउन बाध्य भएको बताउनुभयो । “बच्चाबच्चीले तलब आएको छैन भनेर मान्दैन्न, दसैँको समय छ । सबैले लगाएको खाएको देख्छन् । घरमा आएर झगडा गर्छन् । काम गरेको कार्यालयले तलब दिनसकेको छैन”, उहाँले गुनासो गर्नुभयो । 

माथि उल्लिखित सबै प्रतिनिधि पात्रमात्र हुन् । जिल्लाका सातवटा पालिकाले समयमै परिषद् गरेर खाता सञ्चालन नगर्दा सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राही, सयौँ कर्मचारी तथा पालिकाको विभिन्न क्षेत्रमा काम गरिरहेका सङ्घसंस्था, कार्यालय तथा कम्पनीहरु प्रभावित बनेका छन् । समग्रमा आठ हजार सामाजिक सुरक्षाभत्ता लाभग्राही, करिब चार सय ५० कर्मचारीले यस्तो समस्या भोगेका छन् । २० पालिका रहेको सर्लाहीमा हालसम्म ईश्वरपुर, गोडैता र कविलासी नगरपालिका तथा पर्सा, बिष्णु, बसवरिया र चन्द्रनगर गाउँपालिकाले परिषद् सम्पन्न गरेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐनले निर्दिष्ट गरेको नियमानुसार आवश्यक प्रक्रिया नपु¥याएकाले यी पालिकाहरूको खाता सञ्चालनमा नआएको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका निमित्त कोष नियन्त्रक रुपेशकुमार तिवारीले जानकारी दिनुभयो ।

अन्य आठ नगरपालिका र पाँच गाउँपालिकाले परिषद् सम्पन्न गरी पहिलो चौमासिक रकम निकासा गरेर नियमित तलबभत्ता वितरण गरिरहेका उहाँले बताउनुभएको छ ।