फाइल तस्वीर
काठमाडौँ, असोज २१ गते । सत्तासाझेदार दल नेपाली काङ्ग्रेसले आगामी निर्वाचनमा एक्लै लडेर बहुमत ल्याउने दावी गरेको छ । सोमबार बिहान बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित सङ्घका नेताहरूसँगको भेटवार्ताका क्रममा सो पार्टीका नेता डा.शेखर कोइरालाले यस्तो दावी गर्नुभएको हो ।

संस्थापन इतर पक्षका नेता कोइरालाले काङ्ग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउनेगरी काम उपस्थित नेता तथा कार्यकर्तालाई आग्रह समेत गर्नुभएको थियो । पार्टी निकट नेपाल दलित सङ्घका नेताहरूसँगको भेटमा नेता कोइरालाले आगामी निर्वाचनमा काङ्ग्रेस एक्लै चुनाव लड्ने भएकाले अहिले देखिनै तयारीमा लाग्न आग्रह गर्दै ‘काङ्ग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने हो । त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला’’ भन्नुभयो ।

सोही क्रममा नेता कोइरालाले नेता कार्यकर्ताहरुलाई वडादशैंको शुभकामना दिंदै ‘दशैं तिहारको रमाइलो मात्रै होइन, जनताको सुख दुःखमा पनि पुग्नुहोस्’ भनेर निर्देशनात्मक आग्रह गर्नुभएको थियो ।

काङ्ग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५ औँ महाधिवेशन पर्खनुपर्ने उल्लेख गदै नेता कोइरालाले पार्टीको आगामी १५ औँ महाधिवेशन पछि यस्तो अवस्था हट्ने दावी समेत गर्नुभयो । ‘इमानदार र योग्य जोकोहीले अवसर पाउँछ भन्ने मान्यता १५ औँ महाधिवेशनपछि स्थापित गरिछाड्छौ,’ नेता कोइरालाले जिकिर गर्नुभयो ।