काठमाडौँ, असोज १९ गते । विगत एक महिनादेखि हवाई उद्धार प्रभावकारी बनाउन हवाई एम्बुलेन्सको माग गर्दै काठमाडौँको शान्तिवाटिका अनशन बसेका तेह्रथुमका दीपक सिलवालले आजदेखि अनशन तोड्नुभएको छ । गृह मन्त्रालयका उपसचिव दिलकुमार तमाङ र सिलवालबीच आज पाँचबुँदे सहमति भएसँगै उहाँले अनशन तोड्नुभएको हो । गृह मन्त्रालयमा आज आयोजित एक समारोहबीच गृहमन्त्री रमेश लेखकले उहाँलाई जुस पिलाएर अनशन तोडाउनुभएको हो ।

समारोहमा गृहमन्त्री लेखकले सिलवालले उठाएको विषय गम्भीर र महत्त्वपूर्ण रहेको बताउँदै सहमति कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिनुभयो । सरकारको पनि ध्यानाकर्षण गराउने उद्देश्यका साथ अनशन बसेर सिलवालले लोकतन्त्रको असल अभ्यास गर्नुभएको भन्दै मन्त्री लेखकले प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “आमाहरू, तिनका सन्तानहरूको जीवन जोगाउनका लागि जुन तपस्या गर्नुभयो र हामीलाई झक्झक्याउनुभयो र हाम्रो ध्यान गम्भीरतापूर्वक आकर्षण गराउनुभएको छ, तपाईंलाई धन्यवाद छ ।”

गृहमन्त्री लेखकले अहिले सरकारले दिइरहेको सेवाले सबै ठाउँलाई समेट्न नसकिएको अवस्थामा त्यस्तो हुनुहुँदैन र सबै पीडामा रहेकाहरूको उद्धार गर्नुपर्छ भनेर उहाँले राख्नुभएको माग जायज भएको पनि बताउनुभयो । हवाई उद्धारसँग सम्बन्धित कार्यविधिलाई संशोधन गरेर सिलवालले उठाएको कुरालाई समावेश गरी अघि बढ्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले तोकतान्त्रिक ढङ्गले गरिएको दीपक सिलवालको दबाब शान्तिवादी अभ्यास भएको प्रतिक्रिया दिनुभयो ।

उक्त कार्यक्रममा गृह मन्त्रालयका सूचना अधिकारी तामाङले यसअघिको हवाई उद्धारको समीक्षा गर्दै आपत्कालीन हवाई उद्धारलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयले आवश्यक स्रोत, साधन तथा प्रतिबद्ध संयन्त्रको व्यवस्थापन गरी थप प्रभावकारी बनाउनेलगायत पाँचबुँदे सहमति भएको जानकारी दिनुभयो । 

हिजोको छलफलबाट सहमति गरी आज औपचारिक रुपमा हस्ताक्षर भएको जानकारी गराउँदै उहाँले सहमतिसँगै आजैका मितिबाट सिलवालको अनशन पनि अन्त्य भएको जानकारी दिनुभयो । 

कार्यक्रममा एक महिना अनशन बस्नुभएका सिलवालले आफ्नो माग हवाई एम्बुलेन्स नै रहेको जानकारी दिँदै अहिलेको हवाई उद्धार प्रभावकारी नभएकोतर्फ गृहमन्त्री लेखकको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले सके हरेक प्रदेशमा एक÷एकवटा नसके कम्तीमा पनि चार ठाउँमा हवाई एम्बुलेन्स राख्न जरुरी रहेको औँल्याउनुभयो ।

उहाँलाई सहयोग गर्दै आउनुभएका पूर्वप्रदेश सांसद नरोत्तम वैद्यले तत्काल कार्यविधि संशोधन गरेर हवाई उद्धार प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले यो सहमति कागजमा मात्रै सीमित हुन नहुनेमा जोड दिनुभयो ।