फाइल तस्वीर
काठमाडौँ, असोज १९ गते । यातायात व्यवसायीहरुले बाढीपहिराले मुलुकभरका विभिन्न राजमार्गका पुल र बाटो बगाउँदा यातायात क्षेत्र समस्यामा परेका बताएका छन् । विभिन्न राजनीतिक दल निकट यातायात व्यवसायी सङ्गठनहरुले एक संयुक्त विज्ञप्ति जारी गर्दै चाडपर्वको नजिक भएका विपद्जन्य घटनाले नेपालको यातायात क्षेत्र समस्यामा परेका बताएका हुन् ।

यसरी संयुक्त रुपमा विज्ञप्ति निकाल्नेमा नेपाली काङग्रेसनिकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)निकट गणतान्त्रिक यातायात व्यवसायी सङ्गठन रहेका छन् । संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा चाडपर्वको नजिक भएका विपद्जन्य घटनाले नेपालको यातायात क्षेत्र समस्यामा परेका उल्लेख गरेका छन् ।

व्यवसायी सङ्घसङ्गठनले बाढी र पहिरोबाट निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै हराएकाको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गरेका छन् । घाइतेको उपचार, उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यातायात सङ्घसंस्थाहरुले बाढीपहिराको घटनाले चाडपर्वको सम्मुखमा व्यवसायीको नियमित गतिविधिमा असर पुग्नाका साथै बिपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ सार्वजनिक सवारीसाधन र मजदुर अलपत्र परेको बताउँदै तत्काल अलपत्र सवारीसाधन तथा यात्री उद्धार गर्नुपर्ने व्यवसायीको माग छ ।

व्यवसायीहरुले दसैँ अगावै समस्या समाधान गर्ने पहलकदमी लिनाका साथै यातायात व्यवसायी तथा मजदुरलाई तत्काल राहत पुग्ने किसिमको वित्तीय सहयोगको कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षसमेत गरेका छन् ।

संयुक्त विज्ञप्तिमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष श्रीप्रसाद मैनाली र गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।