काठमाडौँ, असोज १८ गते । राष्ट्रिय मानवअधिकार आयोगले आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न तीन तहको सरकारलाई आग्रह गरेको छ । आयोगले आम उपभोक्ताको अधिकारमा संवेदनशील भई चाडपर्वको समयमा सार्वजनिक यातायातलाई सर्वसुलभ बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको हो ।

“हवाई यातायातलाई सर्वसाधारणको पहुँचयुक्त बनाउन, आम उपभोक्ताका आधारभूत आवश्यकताका सामग्रीको मूल्य निर्धारण र सहज पहुँचका लागि जिम्मेवार निकायबाट हुने अनुगमनलाई प्रभावकारी बनाउन आयोग तीनै तहका सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ”, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । 

आयोगले देशमा हालै घटेका बाढीपहिरोका घटनाबाट उत्पन्न परिस्थिति तथा चाडपर्व नजिकिँदै जाँदा यातायातका साधनले तोकिएको मूल्यभन्दा बढी भाडा लिएको, दैनिक उपभोग्य सामग्रीमा मूल्यवृद्धि भएको तथा हवाई यातायातको भाडामा सर्वसाधारणको पहुँच पुग्न नसकेको नाएको छ ।


आयोगले हालैको भारी वर्षाबाट उत्पन्न बाढीपहिरो र डुबानवाट देशले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको यस सङ्कटको अवस्थामा व्यावसायिक उत्तरदायित्व बहन गर्दै राज्यलाई सहयोग गर्नु तथा नागरिकको पीडामा मलम लगाउनु व्यावसायिक क्षेत्रको पनि दायित्व रहने उल्लेख गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, “चाडपर्वमा हुनसक्ने अत्यधिक मूल्यवृद्धि, कालाबजारी, खाद्यान्नमा मिसावट, म्याद गुज्रिएका खाद्यान्नको बिक्री जस्ता उपभोक्ता अधिकार विपरीतका क्रियाकलापलाई नियन्त्रण गर्न सरकारी निकायबाट अनुगमन तथा नियमन हुनुपर्नेमा प्रभावकारी अनुगमन हुन सकेको देखिदैन ।”