काठमाडौँ, असोज १६ गते । नेपाल–भारत मैत्री सङ्घले यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौँको बल्खुका पीडित नागरिकका लागि राहत सामग्री सहयोग गरेको छ । सङ्घले आज यहाँ एक कार्यक्रमको आयोजनागरी बल्खुका बाढीपीडितका लागि नेपाल चिकित्सक सङ्घमार्फत १० लाख बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो ।

बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक सङ्घको आग्रहबमोजिम नेपाल–भारतमैत्री सङ्घले सो राहत सामग्री हस्तान्तरण गरेको सङ्घका कार्यवाहक अध्यक्ष ई शैलेन्द्र मोहन झाले बताउनुभयो । राहत सामग्रीमा खाद्यान्न, औषधि, ब्लाङ्केट, कम्बललगायत बहुउपयोगी सामग्री रहेका छन् ।

सङ्घका कावा अध्यक्ष झाले भन्नुभयो, “बल्खु क्षेत्रमा धेरै क्षति पुगेको हुँदा चिकित्सक सङ्घको सम्पूर्ण टिमले आग्रह गरेअनुरूप हामीले उक्त राहत सामग्री हस्तान्तरण गरेका छौँ । राहत सामग्रीको उचित व्यवस्थापन हुने हामीलाई आशा छ । अझै गर्नुपर्ने सहयोग हामी गर्दै जान्छौँ । राहत सहयोग यथार्थ पीडितहरूको हातमा परोस् । अरूको हातमा नपरोस् ।”

यसैगरी चिकित्सक सङ्घका अध्यक्ष डा अनिल कार्कीले आफूहरूले बल्खु क्षेत्रमा स्वास्थ्य सेवा सँगसँगै राहत वितरण गर्ने बताउनुभयो । उहाँले बल्खुमा दुई दिनभित्रमा मेडिकल क्याम्पसहित आफूहरू जाने र राहत वितरण गर्ने जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “यो राहत स्वास्थ्य सेवासँगै जोडेर वितरण गर्नेछौँ । पर्सीसम्म बल्खुमा मेडिकल क्याम्पसहित राहत वितरण गर्नेछौँ ।” उहाँले विपद्का बेलामा आगामी दिनमा पनि नेपाल–भारतमैत्री सङ्घले यस्तै सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।