तनहुँ असोज १६ गते । व्यास नगरपालिकाका चार वडालाई जोड्नेगरी चक्रपथ निर्माण प्रारम्भ भएको छ । नगरपालिकाका ७, ९, १० र ११ वडालाई जोड्ने गरी चक्रपथ निर्माण प्रारम्भ भएको हो । विश्व बैंकको आर्थिक सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाले व्यासको गौरव आयोजनामा समावेश भएको पराशर मार्गअन्र्तगत यस सडकको स्तरोन्नति थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले राससलाई बताउनुभयो ।

पृथ्वीराजमार्गसँग जोडिएको व्यास नगरपालिक–१२ को घाँसीकुवासँग जोडिनेगरी पोल्याङ, सेरा, बेलटारी, फराकचौर,अधेरीभञ्ज्याङ, कुमालगाउँ, समता स्कुल हुँदै व्यास मार्गमा पर्ने कलेस्ती बजारसम्म पुग्ने १०.५५ किलोमिटर बाटो धमाधम कालोपत्र भइरहेको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु ४० करोड ८३ लाख ३५ हजार ९२१ मा निर्माण सम्झौता भएको यो आयोजनाआगामी असारसम्ममा निर्माण कम्पनीले सम्पन्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ । प्रारम्भमा पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्गको स्तरोन्नतिका लागि प्रस्ताव गरिएकामा चार वडा जोड्ने आयोजना छनोटमा परेको हो ।