काठमाडौँ, असोज १५ गते । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख धरौटी रकम लिएर छोड्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले बीएन्डसी मेडिकल कलेजका मालिक प्रसाईंलाई आज मङ्गलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला सङ्ग्रौलाको चरित्र हत्या हुनेगरी सार्वजनिक अभिव्यक्ति दिएपछि साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो । अदालतको आदेशसँगै प्रसाईं आजै धरौटी बुझाएर रिहा भएका छन् । न्यायाधीश खरेलको इजलासले प्रसाईंलाई दुईवटा मुद्दामा ५०–५० हजार धरौटी लिन आदेश गरेको हो ।

प्रसाईंविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको थियो । प्रसाईविरुद्ध सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको थियो भने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो । यी मुद्दामा प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको थियो । तर अदालतले ती दुवै मुद्दामा सुनुवाइ गर्दै उनलाई धरौटीमा छाडेको हो ।