काठमाडौँ, असोज १५ गते । नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले राष्ट्रिय विप्दको बेला राहत तथा उद्धार कार्यमा सक्रिय रहन शुभेच्छुक संस्थाका पदाधिकारी एवम् सदस्यलाई आग्रह गरेको छ । विभाग प्रमुख अब्दुल सत्तारले आज एक विज्ञप्ति जारी गरी असोज १० गतेदेखि तीनदिनसम्म देशभर परेको अविरल वर्षाको कारण ठूलो जनधनको क्षति भएको भन्दै यस घडीमा विभागमा आबद्ध सङ्घ, प्रदेश र स्थानीय तहमा क्रियाशील शुभेच्छुक संस्थाका प्रतिनिधिहरूलाई राहत तथा उद्धार कार्यमा सक्रिय रहन आग्रह गर्नु भएको हो ।

यसैगरी दुःखद घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई उचित राहतको व्यवस्था मिलाउन, बेपत्ता भएकाको चाँडो खोजी गर्न र घाइतेको यथाशीघ्र निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । विभागले यस विषम परिस्थितिमा सुरक्षा निकाय, सडक विभागको समन्वयमा अवरुद्ध राजमार्ग, सहायक मार्ग तथा पुलको चाँडो मर्मतसम्भार गरी यातायातका साधन सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।

संयोजक सत्तारले नेपालीहरूको पर्व विजयादशमीको पूर्वसन्ध्यामा भएको यस अकल्पनीय घटनाले जनतामा त्रास उत्पन्न भएकाले जनतालाई सुरक्षित तवरले गन्तव्यस्थलसम्म जाने वातावरण निर्माणमा लाग्न सरकारलाई आग्रह गर्नुभयो ।