काठमाडौँ, असोज १५ गते । गृहमन्त्री रमेश लेखकले आज मङ्गलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गत बिहीबारदेखि लगातार तीन दिनसम्म परेको भारी वर्षाका कारण भएको व्यापक धनजनको क्षति बारे जानकारी गराउनुभएको छ । गृहमन्त्री लेखकले बाढी पहिरो जस्तो विपत्तीको घटना हुनसक्ने भन्दै ५५ हजार जनालाई भाइबरमार्फत् सन्देश पठाएको जानकारी गराएको दावी गर्नुभएको हो ।

सो समितिको बैठकमा गृहमन्त्री लेखकले जल तथा मौसमविज्ञान विभागले गरेको पूर्वानुमान अनुसार विपद् प्रतिकार्य स्वरूप हिमाली क्षेत्रमा पदयात्रामा रोक लगाएको, राजमार्गमा रात्रि बस चलाउन रोक लगायतका निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशन दिएको दावी समेत गर्नुभयो ।

बैठकमा स्थानीय तहका जनप्रतिनिधिलाई बाढी पहिरोको सम्भावन रहेकोले सो सम्बन्धी सतर्कता सन्देश पठाउने काम गरेको, मातहतका निकायलाई सतर्क गराएको जिकिर गर्दै गृहमन्त्री लेखकले आफूले विज्ञहरूसँग बुझ्दा ५० वर्ष भन्दा यताकै ठुलो वर्षा भएको, काठमाडौँ र बागमती प्रदेशमा क्वाउड ब्रस्ट भएको उल्लेख गर्नुको साथै यस्तो बेला सबै पक्ष संयमित भएर विपद्को सामना गर्नुको विकल्प नभएको बताउनुभयो ।

गृहमन्त्रीले बाढी पहिरोबाट दुई सय १८ जनाको मृत्यु, एक सय ४३ जना घाइते, ७० जनाभन्दा बढी बेपत्ता भएको र चार हजार दुईसय २२ जनाको सुरक्षित उद्धार गरेको बैठकलाई जानकारी गराउनुभयो ।

विपद्को बेलामा ३ हजार ९ सय नेपाली सेना, १२ हजार सशस्त्र प्रहरी, ७४ हजार नेपाल प्रहरी परिचालन गरी खोज तथा उद्धार, राहत, घाइतेलाई उद्धार, बन्द भएका राजमार्ग खुलाउने कुरालाई प्राथमिकता दिने काम भएको मन्त्री लेखकले बताउनुभएको थियो ।