काठमाडौँ, असोज १५ गते । यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैंका लागि गत शनिबारदेखि खुलाएको सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ स्थगित गर्ने भएको छ । महासङ्घले औपचारिक रूपमै बैठक बसेर अग्रिम टिकट काट्ने व्यवस्था स्थगित गर्न लागिएको जानकारी दिएको हो ।


सबै सडक अवरुद्ध भएकाले काठमाडौँबाट यात्रु लिएर गन्तव्यतिर जाने अवस्था नभएकाले महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अग्रिम टिकट बुकिङ बन्द गर्न लागिएको जानकारी दिनुभएको छ ।

हिजो सोमबार पृथ्वीराजमार्ग हुँदै गएका गाडी र यात्रु बीच बाटोमै अलपत्र परेकाले अग्रिम टिकट काटेर बस गुडाउन सक्ने अवस्था नरहेको उहाँको भनाई छ । केही राजमार्ग एकतर्फी सञ्चालनमा भए पनि कयौं राजमार्ग अवरुद्ध भएकाले महासङ्घले सडकको अवस्था सहज भएपछि पुनः टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ ।