गोरखा, असोज १५ गते । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले दसैँका अवसरमा अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ । गाउँपालिकाले सञ्चालन गर्दै आएको निःशुल्क छात्रावासमा बसेर पठनपाठन गर्दै आएका अभिभावकविहीन बालबालिकालाई दसैँका लागि नयाँ कपडा खरिद गरी वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

“गाउँघरमा दसैँमा नयाँ कपडा लगाउने, मिठोमसिनो खाने र दसैँ धुमधामका साथ मनाउने प्रचलन पुरानै हो, नयाँ कपडा नलगाएसम्म बालबालिकामा दसैँ आएको अनुभूति पनि हुँदैन, अभिभावकविहीन बालबालिकालाई दसैँमा आफ्ना अभिभावक नभएको अनुभूति नहोस् भन्नका लागि गाउँपालिकाको तर्फबाट नयाँ लत्ताकपडा वितरण गरिएको हो”, उहाँले भन्नुभयो ।

गाउँपालिकाले पालिकाभित्रका अभिभावकविहीन बालबालिकाकालाई चालु शैक्षिकसत्रदेखि वडा नं ६ बाह्रकोटमा निःशुल्क खान, बस्न र पठनपाठनको सुविधासहित मनास्लु छात्रावास सञ्चालन गर्दै आएको छ । सोही छात्रावासमा बस्दै आएका १९ अभिभावकविहीन बालबालिकालाई गाउँपालिकाले नयाँ कपडा वितरण गरेको हो ।

“रोजाइअनुसार केटाका लागि टिर्सट, पाइन्ट ज्याकेट, चप्पल र केटीका लागि कुर्तासुरुवाल, टिर्सट पाइन्टलगायत आफ्नो रोजाइको कपडा वितरण गरिएको छ”, अध्यक्ष भट्टले भन्नुभयो, “नयाँ कपडा पाएपछि उनीहरूलाई दसैँ आएको अनुभूति भएको पाएका छाँै, सबै जना खुसी छन् ।”

उक्त छात्रावासमा बस्ने बालबालिकालाई गाउँपालिकाले स्थानीय सूर्यज्योति माध्यामिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाउँदै आएको छ । गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन नीति नै बनाएर निःशुल्क छात्रावास कार्यक्रम लागू गरेको हो ।

निःशुल्क छात्रावास सञ्चालनसँगै पालिकाभित्र अर्थाभावका कारण कोही पनि अभिभावकविहीन तथा विपन्न बालबालिका विद्यालय जानबाट वञ्चित हुन नपर्ने गाउँपालिका अध्यक्ष भट्ट बताउनुहुन्छ । कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु १२ लाख विनियोजन गरेर कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो ।