काठमाडौँ, असोज १५ गते । सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सरकारले आज मङ्गलबारदेखि बिहिबारसम्म तीन दिन बाढी पहिरो र डुबानबाट देशभर दुई सयभन्दा धेरैको मृत्यु भएपछि राष्ट्रिय शोकको घोषणा गरेको हो ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । साथै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बैठकमा अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि पहल गर्ने, महङ्गी तथा कालोबजारी नियन्त्रणमा कडाई गर्ने निर्णय गरेको प्रवक्ता एवं सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो ।