वाशिङ्टनडिसी, असोज १५ गते । नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) सम्बन्धी सम्झौतामा यहाँस्थित अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्टमा)मा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकाको तर्फबाट अमेरिकी राजनीतिक मामिलाका कार्यवाहक उपविदेशमन्त्री जोन बासले सोमबार हस्ताक्षर गर्नुभएको हो ।

उक्त सम्झौताअनुसार नेपालको परराष्ट्र मन्त्रालय र अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारीहरूबीच संयन्त्रमार्फत विविध पक्षका बारेमा काठमाडौँ र वाशिङ्टनडिसीमा परामर्श र छलफल गरिने जनाइएको छ । उक्त सम्झौतापश्चात दुई देशका मन्त्रीहरूले नेपाल र अमेरिकाबीचको सामूहिक चासोका विविध विषयमा छलफल गर्नुभएको थियो ।

स्टेट डिपार्टमेन्टमा आयोजना गरिएको कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल अमेरिकाका लागि कार्यवाहक राजदूत कुमारराज खरेल तथा अमेरिकाको तर्फबाट दक्षिण तथा मध्य एसियासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु उपस्थित हुनुहुन्थ्यो । परराष्ट्रमन्त्री राणा आजै वाशिङ्टनबाट दोहा प्रस्थान गर्नुभएको छ । त्यहाँ उहाँले नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै एसियाली सहकार्य संवादको समिटमा भाग लिनुहुनेछ ।