गण्डकी, असोज १४ गते । ज्येष्ठ नागरिकको हकलाई संविधानमा मौलिक हकका रुपमा राखिएको छ । नेपालको संविधानसँगै २०६३ सालमा आएको ज्येष्ठ नागरिक ऐन र २०६८ मा आएको नियमावलीले स्पष्ट रुपमा नै ज्येष्ठ नागरिकका हक तथा अधिकारलाई उल्लेख गरेको छ ।

तथ्याङ्कअनुसार देशको कूल जनसङ्ख्याको करिब ११ प्रतिशत व्यक्ति ज्येष्ठ नागरिक छन् । नेपालको संविधानको भाग ३, धारा ४१ मा ज्येष्ठ नागरिकको मौलिक हकका रुपमा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ उल्लेख छ ।

संविधानतः नै ज्येष्ठ नागरिकका मौलिक हक सुनिश्चित गरिनुुका साथै ज्येष्ठ नागरिक ऐन तथा त्यससँग सम्बन्धित कानुन बने पनि त्यसको कार्यान्वयन पक्ष अझै प्रभावकारी बन्न नसक्दा ज्येष्ठ नागरिक आफूले प्राप्त गर्नुपर्ने धेरै सेवा सुविधाबाट वञ्चित बनिरहेको ज्येष्ठ नागरिक महासङ्घ केन्द्रीय समितिका सचिव एवम् गण्डकी प्रदेशका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिनुुभयो ।

“संविधानमा नै ज्येष्ठ नागरिकको हकलाई मौलिक हकमा उल्लेख गरी त्यसअनुरुप विभिन्न ऐन कानुन बनिसकेको अवस्थामा पनि त्यसको कार्यान्वयन पक्ष अझै प्रभावकारी बन्न सकेको छैन”, उहाँले भन्नुुभयो, “स्वास्थ्य बीमामा ज्येष्ठ नागरिकलाई दिने भनिएको सेवा सुविधा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन भने सार्वजनिक यातायातमा पाउने भनिएको ५० प्रतिशत सहुलियत उनीहरूले पाउन सकेका छैनन् ।

अस्पतालहरूमा ज्येष्ठ नागरिकका लागि वार्ड छुट्याइए पनि सेवाको सहज पहुँच अझै प्राप्त हुन नसकेको उहाँले बताउनुुभयो । नेपाल सरकारले ७० वर्ष उमेर पूरा भएका नागरिकलाई वृद्ध भत्ता उपलब्ध गराउँदै आएको छ । ज्येष्ठ नागरिकलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले ज्येष्ठ नागरिक परिचयपत्र उपलब्ध गराएको छ ।

राज्यले दिएको परिचयपत्रका आधारमा स्वास्थ्योपचार, यातायातलगायत क्षेत्रमा सहुलियत पाउने भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा ज्येष्ठ नागरिकहरू समस्यामा परिरहेको ज्येष्ठ नागरिक महासङ्घ कास्कीका पूर्वअध्यक्ष विश्वेश्वर हरामीले बताउनुुभयो ।

“ज्येष्ठ नागरिकले यातायातमा सहुलियत पाउन नसकेको सम्बन्धमा महानगर प्रमुखसहित सम्बद्ध पक्षसँग पटक–पटक गुनासो गरिहेपनि त्यसको कुनै सुनुवाइ हुन सकेको छैन”, उहाँले भन्नुुभयो, “स्वास्थ्योपचारमा समेत बीमाको सुविधा पनि सहज रुपमा पाउन नसक्नु, लामो समय लाइनमा उभिएर सेवा लिनुपरेका धेरै समस्या कायमै छन् ।”

महँगो औषधि बाहिर किन्नुपर्ने र सस्तो औषधि मात्रै बीमाबापत पाउने गरिएको उहाँले अनुुभव सुनाउनुुभयो । सरकारले सबै स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकको उपचारका लागि वार्ड राख्ने भने पनि त्यसअनुरुप अस्पतालमा अझै व्यवस्था नगरिएको ज्येष्ठ नागरिकहरूको गुनासो छ ।

वृद्धाश्रम तथा ज्येष्ठ नागरिक सेवा केन्द्र सहयोगी बन्दै
ज्येष्ठ नागरिकलाई कानुनले व्यवस्था गरे अनुसार सेवा सुविधा प्राप्त हुन नसकेको गुनासो कायमै रहँदा असहाय ज्येष्ठ नागरिकलाई लक्षित गरी सञ्चालन गरिएका बृद्धाश्रम तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भने उनीहरूका लागि सहयोगी बनेका छन् ।

पोखरा महानगरपालिका–१७ महतगाँैंडास्थित पोखरा वृद्धाश्रम, पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रम, पोखरा १५ स्थित वात्स्यायन वृद्धाश्रम जस्ता केही वृद्धाश्रम असहाय ज्येष्ठ नागरिकका लागि सहयोगी बनेका छन् । वृद्धाश्रमसँगै विभिन्न सङ्घ संस्थाको पहलमा सञ्चालनमा आएका ज्येष्ठ नागरिक मिलन केन्द्र उनीहरूलाई दिउँसोको समय बिताउनका लागि सहज भएका छन् ।

पोखरा १७ महतगौँडामा असहाय ज्येष्ठ नागरिकका लागि सारथी बनिरहेको पोखरा वृद्धाश्रमले ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यकक्रम पनि सञ्चालन गरिरहेको वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिनुुभयो ।

उहाँका अनुसार वृद्धाश्रममा आश्रित ५० जना ज्येष्ठ नागरिकका साथै आसपासका क्षेत्रबाट आउने करिब १० जना ज्येष्ठ नागरिकले दिवा सेवा कार्यक्रम अन्तर्गत सेवा लिइरहनु भएको उहाँले बताउनुुभयो । दिवा सेवा कार्यक्रम अन्तर्गत निःशुल्क चिया तथा खाजाका साथै नियमित भजन, प्रवचन, स्वास्थ्य सचेतना आदि सञ्चालन भइरहेको छ । वृद्धाश्रमले समय समयमा ज्येष्ठ नागरिकलाई धार्मिक अवलोकन भ्रमण समेत गराउँदै आएको उहाँले बताउनुुभयो ।

पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले २०७२ माघ ४ गतेदेखि सञ्चालनमा ल्याएको ज्येष्ठ नागरिक मिलन केन्द्र आसपासका ज्येष्ठ नागरिकका लागि बरदान सावित बनेको छ । विन्ध्यवासिनी मन्दिर परिसरमा सञ्चालित केन्द्रमा दैनिक ६० जनासम्म आउने गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुुभयो । केन्द्रमा चिया खाजाको पनि व्यवस्था समितिले गरेको छ भने त्यहाँ ज्येष्ठ नागरिकहरू एक आपसामा सुख,दुःखका कुरा गर्ने, भजनकीर्तनमा रमाउने र बेलुका घरका सदस्यसँग बस्ने पाउने भएकाले त्यसबाट लाभान्वित बनेका छन् ।

समितिले नदीपुरस्थित सञ्चालन गरिरहेको प्राकृतिक चिकित्सालय परिसरमा आसपासका अन्य ज्येष्ठ नागरिकलाई दिवा सेवा दिने लक्ष्यका साथ भवन निर्माण गरिरहेको ज्येष्ठ नागरिक मिलन केन्द्र संयोजक रमेशप्रसाद अधिकारीले जानकारी दिनुुभयो ।

पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण वृद्धाश्रमले आवासीय रुपमा बस्ने ५० जना ज्येष्ठ नागरिकका साथै वरपरका ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रसमेत सञ्चालन गर्दै आएको वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले जानकारी दिनुुभयो ।

उहाँका अनुसार दिवा सेवा केन्द्रमा भजनकीर्तन, प्रवचन आदि कार्यक्रम सञ्चालन गरिँदै आइएको छ । परिवारका सदस्य स्कूल, कलेज, सरकारी सेवालगायत अन्य काममा जाँदा ज्येष्ठ नागरिकले घर कुर्नुपर्ने र एक्लै बस्दा समय बिताउन गाह्रो पर्नेका लागि सञ्चालित यस्ता दिवा सेवा केन्द्र उपयोगी बनेको ज्येष्ठ नागरिकको अनुभव छ ।