बागमती, असोज १४ गते। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोमा परी मृत्यु भएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका छ जना विद्यार्थीमध्ये तीनजनाको शव हेटौँडा ल्याइएको छ ।

काठमाडौँस्थित शिक्षण अस्पतालमा शवपरीक्षण पश्चात् मृतक मध्ये अनुमप घलान, साइमन योञ्जन र बाराका बिकल रेग्मीको शव आज बिहान हेलिकप्टर मार्फत हेटौँडा ल्याइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो । 

यहाँ जिल्ला खेलकुद विकास समितिले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित मैदानमा आयोजित श्रद्धाञ्जली सभामा मृतकका आफन्त, खेलाडी, खेलप्रेमी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो । प्रजिअ चिलुवालले शव अन्त्यष्टिका लागि परिवारजनलाई बुझाइएको बताउनुभयो । 

होस्टेलमा बसेर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ टेकरस्थित वत्सला माध्यमिक विद्यालयमा अध्ययन गर्ने र एन्फा क्याम्पमा फुटबल प्रशिक्षण लिने ४० जना विद्यार्थीमध्ये हेटौँडाका घलान, योञ्जन, बाराको निजगढका रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौँका रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकीको पहिरोमा परी शनिबार मृत्यु भएको थियो ।