फाइल तस्वीर
काठमाडौँ, असोज १४ गते ।
गत बिहीबारदेखि भएको भीषण अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ । सो कुराको जानकारी गृह मन्त्रालयले दिएको हो ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋृषिराम तिवारीका अनुसार अझै ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपदमा परी एक सय ९४ जना घाइते भएको छन् । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको गृह प्रवक्ताले बताउनुभएको छ ।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताउनुभयो ।