पाटन, असोज १३ गते। सरोकारवालाहरुले राहत तथा उद्धारका लागि स्थानीय तहको भूमिका बढाउनुपर्नेमा जोड दिनुभएको छ । आज आयोजित ललितपुर जिल्ला विपद् व्यवस्था समितिको बैठकमा उहाँहरुले उद्धार र राहतका लागि वडाहरुको समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।

पूर्व अर्थराज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य उदय शमशेर राणाले सडक र विद्युत् सञ्चालन गर्नेदेखि सञ्चार सम्बन्ध स्थापित गर्न सुरक्षा निकाय र स्थानीय तहबीचको समन्वयका लागि सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले उद्धार, राहत, स्वास्थ्य तथा सुरक्षाका लागि सरकार, निजी र सामुदायिक सङ्घ संस्था समेतको समन्वय हुनुपर्ने बताउनुभयो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले विपद्का समयमा निर्माण व्यवसायीले राहत तथा उद्धारका क्रममा सडक सञ्चालन र मर्मत गर्नुपर्ने र उहाँहरुलाई यथाशीघ्र भुक्तानी गर्न माग गर्नुभयो । बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले बाढीपहिरो प्रभावित ठाउँमा आवश्यक समन्वयका लागि जिल्ला विपद् व्यवस्थापन समितिसमक्ष आग्रह गर्नुभयो । उहाँले बिरामीलाई अक्सिजन पु¥याउन समस्या भइरहेको उल्लेख गर्दै यसमा सबैले ध्यान दिएर सहजीकरण हुनुपर्ने माग गर्नुभयो ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले यथाशीघ्र सडक सञ्जाल सुरु गर्न आवश्यक रहेको उल्लेख गर्दै राहतका काम वडा तहलाई जिम्मेवार बनाउँदै जिल्ला प्रशासन मार्फत गर्नुपर्ने माग गर्नुभयो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले शनिबार नख्खुमा बाढीमा बगेकालाई उद्धार गर्ने चणिकलाललाई महानगरले सम्मान गर्ने जानकारी दिनुभयो । उहाँले राहत तथा उद्धारमा खटिनेलाई प्रोत्साहित गर्ने पनि बताउनुभयो । उहाँले आवश्यकता अनुसार जिल्लाका स्थानीय तहसँग समन्वय गरिने बताउनुभयो ।

ललितपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले हालसम्म ललितपुरमा मात्रै २२ वटा शव फेला परेको बताउँदै दक्षिणी भेगका प्रहरीसँग सम्पर्क हुन नसकेको बताउनुभयो । “हिजो जनशक्तिको कमी थिएन, उद्धार सामग्री, स्रोत र साधनको अभाव भयो, आगामी दिनमा त्यस्तो नहोस्”, उहाँले भन्नुभयो ।

निर्माण व्यवसायी सङ्घ ललितपुरका वरिष्ठ उपाध्यक्ष भगीरथ तिमिल्सिनले विपद्को समयमा काम लगाउने तर भुक्तानी नदिने समस्या समाधान गर्न आग्रह गर्नुभयो । उहाँले समयमै भुक्तानी भए तीन दिन भित्र सबै सडक सञ्चालनमा ल्याइने बताउनुभयो । विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले यथाशीघ्र राहत तथा उद्धारका काममा लाग्ने, अवरुद्ध सडक खुलाउन तत्कालै समन्वय र पहल गर्ने, सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी विपदबाट सिर्जित समस्या समाधानमा लाग्ने निर्णय भएको जानकारी गराउनुभयो ।